काठमाडौं । व्यवसायी शेखर गोल्छालाई प्रहरीले काठमाडौँको नारायणचौरबाट पक्राउ गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
सीआईबीका एआईजी मनोज केसीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर गोल्छालाई नियन्त्रणमा लिइएको हो । उनी विरुद्ध नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँच प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष रहेका गोल्छा र व्यवसायी दीपक भट्टबीच धितोपत्र ऐन विपरीत कारोबार भएको देखाएको छ। प्रतिवेदनमा उनीहरूले सेयर कारोबारमा जालसाजी गरेको आशंका गरिएको छ।
उक्त प्रकरणमा भट्ट र शंकर समूहका उपाध्यक्षसमेत रहेका अर्का व्यवसायी सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यो अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा अघि बढाइएको हो ।
प्रतिवेदनमा गोल्छासहित रोहित गुप्ता र नेपाल माइक्रो इन्स्योरेन्सलाई समेत कसूर गर्न सघाएको उल्लेख गरिएको छ। अनुसन्धान सुरु भएसँगै गोल्छाले केही साताअघि हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
उनको कार्यकालमा कम्पनीले करिब २ अर्ब ७३ करोड रुपैयाँ सहायक कम्पनी हिमालयन सेक्युरिटिजमा लगानी गर्ने निर्णय गरेको थियो ।
सोही माध्यमबाट करिब २ अर्ब २१ करोड रुपैयाँ कम्पनीकै सञ्चालक भट्टलाई दोस्रो बजारमा सेयर खरिदका लागि उपलब्ध गराइएको खुलेको छ ।
प्रचलित कम्पनी कानुन, बीमा नियमन तथा कर्पोरेट सुशासनका आधारभूत सिद्धान्तअनुसार संस्थाको कोष यसरी कुनै व्यक्तिको निजी लगानीमा प्रयोग गर्न दिनु गम्भीर उल्लंघन मानिन्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।