काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ ।
संविधान संशोधनसम्बन्धी बहसलाई व्यवस्थित र समृद्ध बनाउने उद्देश्यसहित कार्यदलको टोली संयोजक शाहको नेतृत्वमा भट्टराई निवास पुगेको हो ।
छलफलमा संविधान कार्यान्वयनका अनुभव, आवश्यक संशोधनका सम्भावित विषय र राजनीतिक सहमतिका आधारबारे विचार आदानप्रदान भएको जनाइएको छ।
यसअघि कार्यदलले गत जेठ २८ गते पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छुट्टाछुट्टै छलफल गरी सुझाव संकलन गरिसकेको थियो।
कार्यदलले संविधान संशोधनबारे विभिन्न राजनीतिक दल, पूर्वप्रधानमन्त्री, संवैधानिक विज्ञ तथा सरोकारवालासँग निरन्तर संवाद गर्दै ‘संविधान संशोधन बहस पत्र’ तयार पार्ने प्रक्रिया अघि बढाएको जनाएको छ।