काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुनी प्रबन्धबिनै गठन गरिएको सम्पत्ति छानबिन आयोगको वैधानिकता र कार्यशैलीमाथि भविष्यमा गम्भीर प्रश्न उठ्न सक्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीमै आयोग गठनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने उल्लेख भए पनि त्यसको पालना नगरी आयोग गठन गरिएको भन्दै आपत्ति जनाए।
उनले आयोगलाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन स्पष्ट कानुनी आधार अपरिहार्य रहेको बताए।
विशेषगरी नेपालबाट अवैध रूपमा आर्जन गरिएको सम्पत्ति विदेशमा लगेर लुकाइएको आशंका रहेकाले त्यस्तो सम्पत्तिको छानबिन गर्न कानुनले स्पष्ट अधिकार र आधार दिनुपर्ने उनको भनाइ थियो।
थापाले भ्रष्टाचार वा आर्थिक अनियमितताका हरेक प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी ठहरिएका जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेपाली कांग्रेस स्पष्ट रहेको बताए।
राहदानी छपाई प्रकरणको उल्लेख गर्दै उनले गल्ती गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताए। साथै, सरकारले कुनै पनि अनुसन्धान वा कारबाही अघि बढाउँदा कानुनी विधि, प्रक्रिया र संस्थागत आधारलाई कमजोर बनाउन नहुने उनको जोड थियो।