काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको बजेटमा केही सकारात्मक पक्ष भए पनि गरिबमुखी दृष्टिकोणको अभाव रहेको बताएका छन्।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रतिपक्षको जिम्मेवारी सरकारका राम्रो कामको स्वागत गर्ने र कमजोरीप्रति खबरदारी गर्ने भएको स्पष्ट पारे।
उनले बजेटमा अर्थतन्त्रका संरचनागत सुधारका लागि केही सकारात्मक नीतिगत व्यवस्था समावेश गरिएको भन्दै ती पक्षको स्वागत गर्नुपर्ने बताए। तर गरिबी न्यूनीकरण र सामाजिक न्यायका सवालमा सरकारले अपेक्षित संवेदनशीलता नदेखाएको उनको आरोप छ।
'जहाँ ठीक कुरा भएको छ, त्यसलाई हामीले ठीक भन्नुपर्छ। संरचनागत सुधारका लागि ल्याइएका सकारात्मक विषयहरूको स्वागत गर्नुपर्छ,'थापाले भने, 'तर सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको देखिन्छ। गरिबी र गरिबलाई एउटै रूपमा बुझ्ने प्रवृत्ति गलत हो।'
सभापति थापाले वर्तमान सरकारको नीति र प्राथमिकतामाथि प्रश्न उठाउँदै गरिबी निवारणभन्दा गरिब वर्गलाई नै राज्यको प्राथमिकताबाट बाहिर धकेल्ने सोच देखिएको टिप्पणी गरे।
'सरकार गरिबी हटाउने होइन, गरिबलाई नै हटाउने मानसिकतामा देखिन्छ,' उनले भने।