काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर छुट दिएको जस्तो देखाए पनि व्यवहारमा विभिन्न शीर्षकबाट नागरिकमाथि अझ बढी आर्थिक भार थोपरेको आरोप लगाएका छन्।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक श्रृंखला’ कार्यक्रममा बोल्दै थापाले मध्यमवर्गीय परिवारलाई राहत दिएको भनिए पनि शिक्षा, स्वास्थ्य र विद्युत् उपभोगजस्ता क्षेत्रमा नयाँ कर तथा शुल्क थपेर सरकार नागरिकबाट बढी रकम असुल्ने दिशामा गएको टिप्पणी गरे।
उनका अनुसार व्यक्तिगत आयकरको सीमा बढाएर केही राहत देखाइए पनि अन्य क्षेत्रबाट लगाइएका शुल्कका कारण नागरिकको कुल खर्च झन् बढ्ने अवस्था बनेको छ।
“सरकारले अगाडिको खल्तीमा पैसा राखिदिएको जस्तो देखाएर पछाडिको खल्तीबाट चुपचाप निकाल्ने काम गरेको छ,” थापाले भने।
थापाले मासिक करिब ६० हजार रुपैयाँ आम्दानी गर्ने मध्यमवर्गीय परिवारले आयकर छुटका कारण वार्षिक करिब २० हजार रुपैयाँ बचत गर्न सक्ने भए पनि शिक्षा, स्वास्थ्य र अन्य सेवामा थपिएको शुल्कका कारण त्योभन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेको दाबी गरे।
शिक्षा क्षेत्रमा निजी विद्यालयमा लगाइएको अतिरिक्त शुल्क अन्ततः अभिभावकमाथि पर्ने भन्दै उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार नगरी निजी शिक्षामा थप भार थोपर्नु अन्यायपूर्ण हुने बताए।
स्वास्थ्य क्षेत्रमा पनि सरकारी अस्पतालमा सेवा र शय्या अभावका कारण नागरिक निजी अस्पताल जान बाध्य भएको उल्लेख गर्दै उनले त्यहाँ पनि विभिन्न शीर्षकमा कर असुल्ने नीति व्यवहारिक नभएको टिप्पणी गरे। “निजी अस्पताल विकल्प होइन, बाध्यता हो,” थापाले भने।
उनले स्वास्थ्य बिमा कार्यक्रम कमजोर बन्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे। त्यस्तै, विद्युत् उपभोगमा ५० युनिटभन्दा माथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाले मध्यमवर्गीय परिवारको मासिक खर्च बढ्ने थापाको भनाइ थियो।
सरकारको उच्च राजस्व लक्ष्यका कारण बैंक ब्याजदर, ऋणको किस्ता तथा समग्र मूल्यवृद्धिमा समेत दबाब पर्ने उनले चेतावनी दिए।