पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले निजी क्षेत्र र सर्वसाधारणमाथि दमनकारी शैली अपनाएको आरोप लगाएका छन् ।
प्रक्रिया र कानुन मिचेर व्यवसायी तथा नागरिकलाई प्रहरी प्रयोग गरेर त्रसित बनाउने काम भइरहेको भन्दै उनले कडा आपत्ति जनाएका हुन् ।
पोखरामा बिहीबार आयोजित नेपाली कांग्रेसको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक शासन व्यवस्था मनपरी ढंगले सञ्चालन गर्न नपाइने बताए ।
'नियम र कानुनले सबैलाई बाँध्नुपर्छ । तर अहिले सरकारले जसलाई मन लाग्यो उसैलाई प्रहरी लगाएर उठाउने र त्रसित बनाउने काम गरिरहेको छ,' उनले भने ।
थापाले सीमाक्षेत्रमा लागू गरिएको कडाइका कारण सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको बताए । १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा समेत कडाइ गरिनुले वर्षौंदेखि सीमावर्ती व्यापार र दैनिक जीविकामा निर्भर नागरिक मारमा परेको उनको भनाइ थियो ।
'राजस्व उठाउने नाममा नागरिकलाई दुःख दिने काम स्वीकार्य हुँदैन,' उनले भने, 'सरकारमा नभए पनि जनतालाई सहजता दिलाउने र सरकारलाई प्रश्न गर्ने जिम्मेवारी कांग्रेसको हो ।'
मन्त्रीहरूको इच्छाअनुसार प्रहरी परिचालन गरेर व्यक्तिलाई पक्राउ गर्ने प्रवृत्ति अलोकतान्त्रिक भएको टिप्पणी गर्दै थापाले वर्तमान सरकार संविधान र कानुनको सीमाभन्दा बाहिर गएर शासन चलाउन खोजिरहेको आरोप लगाए । 'लहड र सनकका आधारमा देश चल्दैन । प्रधानमन्त्री पनि नियम र कानुनभित्रै बाँधिनुपर्छ,' उनले स्पष्ट पारे ।
प्रतिनिधिसभा निर्वाचनबारे बोल्दै थापाले कांग्रेस भौतिक उपस्थितिमा नभई ‘डिजिटल स्पेस’मा कमजोर हुँदा चुनावी परिणाम अपेक्षाअनुसार आउन नसकेको स्वीकार गरे ।
पार्टीसँग पर्याप्त मुद्दा र सामग्री भए पनि त्यसलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउने संरचना कमजोर रहेको उनले बताए ।