'विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन सकेको थिएन'
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपूर्जा वितरण कार्य सुरु गर्ने जानकारी दिएकी छन्।
बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री रावलले भूमिहीन व्यवस्थापनसम्बन्धी कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताउँदै सो जानकारी गराएकी हुन् ।
बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीलाई लालपुर्जा उपलब्ध गराउने र काठमाडौंसहित विभिन्न क्षेत्रमा रहेका भूमिहीन नागरिकको व्यवस्थापन, बसोबास र वैकल्पिक व्यवस्था सम्बन्धी विषयमा सरकारको योजना स्पष्ट पार्न माग गरेका थिए ।
त्यसैको जवाफमा मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक तयारी अघि बढिसकेको बताइन् ।
भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले संरचनागत रूपमा काम गरिरहेको उल्लेख गर्दै मन्त्री रावलले भनिन्- 'लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ । अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौँ।'
विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको उनको भनाइ थियो।
विवरण सार्वजनिक गर्दै उनले भनिन्- 'विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म नौ हजारले मात्र लालपूर्जा पाएका छन् । अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सुकुम्वासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्छ ।'
मन्त्री रावलका अनुसार विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको प्रक्रिया अहिले भूमि सम्बन्धी समितिमार्फत अघि बढाइएको छ ।