विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा प्रहरीबाट भाग्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्।
अवैध गाँजा बोकेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार विराटनगर–१८ निवासी मञ्जितकुमार यादव भाग्ने क्रममा पोखरीमा पसेपछि बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालका अनुसार बुधबार बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले जाँचका लागि रोक्न खोज्दा चालक मञ्जितकुमार यादव मोटरसाइकल र गाँजा छाडेर तीव्र गतिमा फरार भएका थिए।
भाग्ने क्रममा उनी नजिकै रहेको पोखरीमा प्रवेश गरेका र त्यसपछि बाहिर ननिस्किएपछि डुबेको आशंका गरिएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले पनि उनलाई पोखरीमा डुबेको देखेको जानकारी दिएपछि प्रहरीले खोजी अभियान तीव्र बनाएको हो।
बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको छ। एसपी कटुवालका अनुसार बिहीबार बिहानदेखि विशेष गोताखोर टोलीसमेत परिचालन गरी खोजी कार्यलाई थप प्रभावकारी बनाइनेछ।
यसैबीच, मोटरसाइकलको पछाडि सवार भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिन सफल भएको छ।
प्रहरीले उनको साथबाट ६ किलो १३० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको जनाएको छ।