Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफास, सरकारी कागजात बरामद

विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफास, सरकारी कागजात बरामद

बुधवार , आषाढ २४, २०८३

विराटनगर । मोरङको विराटनगरमा नक्कली नागरिकता तथा सरकारी कागजात तयार गर्ने संगठित गिरोहलाई प्रहरीले पर्दाफास गर्दै दुई जनालाई पक्राउ गरेको छ।

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेकी एक महिलाले पेस गरेको नागरिकता नक्कली रहेको पुष्टि भएपछि सुरु भएको अनुसन्धानले सरकारी कागजात कीर्ते गर्ने गिरोहसम्म प्रहरीलाई पुर्‍याएको हो।

सप्तरी स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१४ बस्दै आएकी ३० वर्षीया मनिषाकुमारी कामत असार २४ गते राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्।

उनले मनिषाकुमारी राजवंशीको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र पेस गरेकी थिइन्। प्रशासनका कर्मचारीले नागरिकता शंकास्पद देखिएपछि परीक्षण गर्दा उक्त प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको थियो। त्यसलगत्तै प्रहरीलाई जानकारी गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लोकनाथ दाहालको नेतृत्वमा खटिएको विशेष टोलीले अनुसन्धान अघि बढाउँदा मनिषाले उक्त नक्कली नागरिकता विराटनगर–६ का धनदेव राजवंशी र विराटनगर–११ का अशोककुमार श्रेष्ठमार्फत प्राप्त गरेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानकै क्रममा प्रहरीले महेन्द्र चोकस्थित 'न्यू डोली फोटो सर्भिसेज' मा छापा मार्दा नक्कली सरकारी कागजात तयार पार्न प्रयोग भइरहेका सामग्रीको ठूलो परिमाण बरामद गरेको छ।

प्रहरीका अनुसार स्टुडियोबाट विभिन्न व्यक्तिका नाममा जारी १२ थान नेपाली नागरिकता, २ थान सवारी चालक अनुमति पत्र, १० थान खाली जन्मदर्ता प्रमाणपत्र, १ थान खाली विवाह दर्ता प्रमाणपत्र, १ थान खाली मृत्यु दर्ता प्रमाणपत्र, विभिन्न व्यक्तिका जन्म, विवाह र मृत्यु दर्ताका प्रमाणपत्र, २ थान मोबाइल, १ थान कम्प्युटर सीपीयू, 'न्यू डोली फोटो सर्भिसेज विराटनगर' लेखिएको रबर स्ट्याम्प तथा नगद ३ हजार ४ सय ५० रुपैयाँ बरामद गरिएको छ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बरामद सामग्रीले सरकारी कागजात कीर्ते गर्ने संगठित नेटवर्क सञ्चालन भइरहेको संकेत गरेको छ। पक्राउ परेका धनदेव राजवंशी र अशोककुमार श्रेष्ठलाई लिखत सम्बन्धी कसुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077