काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि एक युवकले आत्मदाह प्रयासको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो एक युवकले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।
आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।
उनले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगो लाग्ने वितिक्क प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग जलेका छन् ।
शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ ।
पेसाले पठाओ 'राइड सेयरिङ' चालक रहेका उनको आजै महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा राखेको भन्दै मोटरसाइकलमा साँचो 'ह्वील लक' लगाएपछि उनी आक्रोशित बनेका थिए । सोही विषयलाई लिएर विवाद र तनाव भएपछि उनले पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यद्यपी कसैले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएर हुन सक्ने आशंका व्यक्त गरेका छन् । यसबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।