Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ मा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, जित्नैपर्ने दबाव

विश्वकप लिग–२ मा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, जित्नैपर्ने दबाव

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा नामिबियासँग ८ विकेटको निराशाजनक हार बेहोरेपछि दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै पुनरागमन गर्ने लक्ष्यमा छ। विश्वकप छनोटको सम्भावना जीवित राख्न यो खेल नेपालका लागि अत्यन्त निर्णायक मानिएको छ।

विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष चारभित्र रहेर सिधै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन नेपालले बाँकी सात खेलमध्ये कम्तीमा छ खेल जित्नुपर्ने चुनौती छ। नामिबियासँगको हारले नेपालको समीकरण थप कठिन बनेको छ।

यस शृंखलापछि नेपालले आगामी अक्टोबरमा क्यानडा र अमेरिकासँग अन्तिम त्रिकोणात्मक शृंखला खेल्नेछ। लिग–२ को शीर्ष चार टोलीले सिधै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने बाँकी टोलीले प्लेअफ खेल्नुपर्नेछ।

यद्यपि नेपालको अर्को महत्त्वपूर्ण लक्ष्य एकदिवसीय (ओडीआई) मान्यता जोगाउनु पनि हो। लिग–२ को शीर्ष ६ भित्र रहन सके नेपालले आगामी चार वर्षसम्म आफ्नो ओडीआई मान्यता कायम राख्नेछ। त्यसका लागि नेपालले अबका बाँकी खेलमध्ये कम्तीमा चार खेल जित्नुपर्ने अवस्था छ।

नेपालले पछिल्लो समय घरेलु मैदानमा लगातार दुई त्रिकोणात्मक शृंखलाबाट १२ अंक जोड्दै विश्वकप छनोटको आशा बलियो बनाएको थियो। तर नामिबियासँगको हारले त्यो यात्रामा धक्का पुगेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077