काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत आफूविरुद्ध चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाइएको भन्दै ओलीले नेपाल प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीका आधारमा शनिबार चितवनबाट दुईजना पुरुष पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भरतपुर १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भएर नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरे रहेका छन् ।
साइबर ब्युरोका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान जारी छ । पक्राउ परेकाविरुद्ध विद्युतीय कारोबार तथा प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
ओलीले शुक्रबार साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेकी थिइन्। उजुरी दिएलगत्तै उनले सामाजिक सञ्जालमार्फत आरोपितहरूको तस्बिर सार्वजनिक गर्दै कानुनी कारबाहीको माग गरेकी थिइन् ।
यसअघि पनि ओलीकै यस्तै प्रकृतिको उजुरीका आधारमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको थियो ।