नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित संजिवनी अस्पताल (नर्सिङ होम) पछाडि जलेको अवस्थामा एक अज्ञात महिलाको शव फेला परेको छ ।
शनिबार राति करिब साढे ११ बजेतिर उनको शरीरमा आगो लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाले राति महिलाको शरीरमा आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अंगुर जिसीका अनुसार राति ११ बजेर ४२ मिनेटमा घटनाबारे जानकारी प्राप्त भएको थियो ।
'घटनास्थलमा प्रहरी पुग्दा महिला पूर्ण रूपमा जलेको अवस्थामा थिइन्। वरिपरिका व्यक्तिसँग सोधपुछ गर्दा उनी आगो लाग्दा एक्लै रहेको देखिएको छ,' एसपी जिसीले भने ।
मृतक महिला करिब २५ देखि ३० वर्ष उमेर समूहकी जस्तो देखिने र हालसम्म उनको पहिचान खुल्न सकेको छैन। उनी सो क्षेत्रमा भाडामा बस्दै आएको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलबाट आगो लगाउन प्रयोग गरिएको ‘सलाई’ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।