काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ संसदमा घाँटी सुक्नेगरी कराएर मात्रै नहुने बताएका थिए ।
मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सांसदहरूले व्यापक प्रश्न उठेपछि जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को–को हस्पिटल पुग्नुभएको थियो ?’ भनी प्रश्न गरेका थिए ।
उक्त विषयमा सांसद शर्माले आपत्ति जनाएका हुन् । उनले यसलाई सांसदहरूमाथि गरिएको अपमानको रुपमा व्याख्या गरे ।‘
उनले भने–‘सदनले सरकारलाई सदनमै खोज्ने हो । सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ भनेर सदनलाई जानकारी दिने हो । त्यो जिम्मेवारी हो । सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्नेगरी चिच्याएको भनेर भन्न मिल्दैन । यो सांसदहरूप्रति र संसद्प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रुपमा मैले बुझेको छु । यसलाई संसद्को रेकर्डबाट हटाइयोस् ।’
गृहमन्त्री रातभर खटिनु उहाँ (गृहमन्त्री)को जिम्मेवारी भएको बताउँदै सांसद शर्माले गृहमन्त्रीको उक्त भनाइले सांसदहरुमाथि अपमान भएको बताएका हुन् ।