काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै आगामी दुई दिन कोसी, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
शनिबार साँझ जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी नेपालमा तराई भूभागनजिक अवस्थित रहेकाले वर्षा थप सक्रिय बनेको हो।
शनिबार काठमाडौं उपत्यकासहित देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको विभागले जनाएको छ। साँझसम्म पनि केही क्षेत्रमा वर्षा जारी रहेको थियो।
विभागका अनुसार आइतबार र सोमबार (असार २८ र २९ गते) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसबाहेक, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
विभागले भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रतिकूल असर पर्न सक्ने चेतावनी दिँदै नागरिकलाई विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरेको छ।