काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको क्रम जारी रहेको छ । मौसम पूर्वानसमान महाशाखाका अनुसार आज पनि पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका विभिन्न स्थानका साथै देशका पहाडी भूभागका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
मौसम पूर्वानुमानअनुसार बिहीबार देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ। मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने जोखिम रहेको छ।
त्यसैले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।