काठमाडौं। जेनजी अभियन्ता मिराज ढुङ्गानाले गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने भन्दै ६ बुँदे धारणा सार्वजनिक गरेका छन्।
शनिबार ढुंगानाले सामाजिक सञ्जालमार्फत गणेशको आत्मदाह फगत आत्महत्या नभएर विद्रोह भएको तर्क गर्दै ६ बुँदे धारणा अघि सारेका हुन् ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा शुक्रबार उनको निधन भएको थियो।
महानगर प्रहरीसँगको विवादपछि आत्मादाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठ्न थालेको हो।
शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको उनको भनाइ छ।
उनका अनुसार गणेश नेपालीको आत्मदाह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवाना सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टिको चरम अभिव्यक्ति हो। उनले नागरिकको आर्थिक अवस्था र जनभावनालाई बेवास्ता गर्दै ल्याइएका नीतिका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन्।
ढुङ्गानाले उक्त विधेयक सच्याएर जनतालाई अत्यधिक जरिवानाको भारबाट मुक्त गर्नुपर्ने र गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका छन्।