काठमाडौं । सुकुम्बासी व्यवस्थापनको विषयमा जेनजी नेता मिराज ढुंगानाले सरकारमाथि प्रश्न उठाएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकामाथि प्रश्न गर्दै सुकुम्बासी व्यवस्थापनमा स्पष्ट योजना अभाव रहेको बताएका हुन् ।
उनले चुनावअघि डोजर प्रयोगविरुद्ध विरोध जनाउँदै ‘छाती थाप्ने’ नेताहरू अहिले मौन बसेको भन्दै कटाक्ष गरे। ‘सुकुम्बासीलाई व्यवस्थापन गर्ने भनिएको छ, तर कसरी गर्ने ? चुनावअघि डोजर हान्दा छाती थाप्नेहरू अहिले कहाँ छन् ?’ उनले प्रश्न गरे ।
ढुंगानाले करिब ५० लाख नेपाली सुकुम्बासी समस्याबाट प्रभावित भएको दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्र जिम्मेवारी पूरा नहुने टिप्पणी गरे। उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा उपस्थित भई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै पारदर्शितामाथि समेत प्रश्न उठाए ।
‘अहिले ५० लाख नेपाली प्रभावित छन्, तर स्टाटस लेखेर मात्र हुन्छ ? प्रत्यक्ष आएर बोलिदिनुपर्छ,’ उनले भने, ‘त्यो स्टाटस आफैं लेख्ने हो कि अरू कसैले तयार गर्ने हो रु पारदर्शिता चाहिन्छ।’
साथै, उनले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनबारे ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन्। आवास, रोजगारी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकताबारे स्पष्ट खाका प्रस्तुत गर्नुपर्ने उनको जोड छ।
‘सुकुम्बासीले दुई छाक खान पाउँछन् कि पाउँदैनन् ? स्वास्थ्य सेवा, शिक्षा र बसोबासको व्यवस्था कसरी हुन्छ ? बजेट कति छुट्याइन्छ ? कहाँ जग्गा दिइन्छ ?’ भन्दै उनले सरकारसँग जवाफ माग गरे।
ढुंगानाले आवश्यक तयारी र विकल्पबिना बस्तीमा डोजर चलाउनु अनुचित हुने बताउँदै सुकुम्बासी समस्या समाधान राज्यको दायित्व भएको स्पष्ट पारे। ‘राज्यले आधारभूत व्यवस्था नगरी डोजर चलाउन पाउँदैन,’ उनले भने ।