काठमाडौं । जेनजी अभियानका अगुवा मिराज ढुंगानाले संविधान संशोधनका लागि गठन गरिएको कार्यदलमा चलचित्र निर्देशक असिम शाह को नियुक्तिप्रति कडा प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग पारदर्शिताको माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको ‘खुलापत्र’मा ढुंगानाले संविधान संशोधनजस्तो संवेदनशील विषयमा विज्ञता, अनुभव र योग्यता भन्दा व्यक्तिगत निकटतालाई प्राथमिकता दिइएको हो कि भन्ने आशंका पैदा भएको बताएका छन्।
सरकारले हालै संविधान सुझाव कार्यदलमा निर्देशक शाहलाई नियुक्त गरेपछि प्रतिक्रिया जनाउँदै उनले यदि उक्त नियुक्ति क्षमता र दक्षताका आधारमा गरिएको हो भने शाहको संविधानसम्बन्धी अनुभव, अध्ययन र योग्यताको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।
'यदि डाइरेक्टर साब संविधानविद्भन्दा पनि बढी सक्षम र विज्ञ हुनुहुन्छ भने उहाँको संविधान सम्बन्धी अनुभव र सिभी सार्वजनिक गरियोस्,' ढुंगानाले लेखेका छन्, 'त्यसो भए नियुक्तिप्रति हाम्रो कुनै आपत्ति रहने छैन।'
उनले नियुक्ति व्यक्तिगत सम्बन्ध वा राजनीतिक निकटताका आधारमा गरिएको भए त्यसलाई स्पष्ट रूपमा स्वीकार गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। 'यदि होइन भने उहाँ तपाईंको नजिकको साथी भएकै कारण प्रमुखमा नियुक्त गरिएको हो भनेर स्पष्ट गरियोस्। हामीले खोजेको पारदर्शिता हो,' उनले उल्लेख गरेका छन्।
ढुंगानाले विगतमा जनताले नातावाद, कृपावाद र राजनीतिक वेथितिविरुद्ध मत दिएको स्मरण गराउँदै अहिले फेरि त्यही प्रवृत्ति दोहोरिन थालेको आरोप लगाए। उनले संविधानलाई कुनै फिल्म वा व्यक्तिगत परियोजनाजस्तो व्यवहार गर्न नहुने चेतावनीसमेत दिएका छन्।
'यो संविधान फिल्म होइन, देशको सर्वोच्च कानुन हो,' उनले लेखेका छन्,'नियुक्ति क्षमता र विज्ञताका आधारमा होस्, नजिकको साथी भनेर नेपोटिजमका आधारमा होइन। यो देशको संविधान हो, कसैको पेवा होइन।'