काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा स्कटल्याण्डले अमेरिकासमक्ष १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले अमेरिकाविरुद्ध ४३.३ ओभरमा सबै विकेट गुमाएर १६९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो ।
स्कटल्याण्डका लागि मार्क वाटले ६६ रनको अर्धशतकीय पारी खेले ।
वाटले ८५ बलमा चार चौका र तीन छक्का प्रहार गरे । उनले छैटौँ विकेटको निम्ति म्याथ्यु क्रससँग ५२ रनको अर्धशतकीय साझेदारी गरे । ब्रान्डन म्याक्मुलेनलले ३२ रन जोडे । म्याथ्यु क्रसले २० रन बनाउँदा ओपनर जर्ज मुन्सीले १९ रन बनाए ।
अमेरिकाका रुसील उग्राकरले चार विकेट लिए । शौरभ नेत्रावल्करले तीन विकेट लिए । त्यसैगरी, शुभम रञ्जानेले दुई विकेट लिँदा हर्मित सिंहले एक विकेट लिए ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तिन खेल सकिएका छन् । दुई खेलमा स्कटल्याण्ड विजयी भएको छ भने एकमा नेपाल विजयी भएको छ ।
पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । पहिलो खेलमा हार व्यहोरेको नेपाले आज बदला लिँदै स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो ।
आजको खेलमा अमेरिका स्कटल्याण्डविरुद्ध पहिलो खेलको हारको बदला लिने सोचमा छ ।