काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण सोमबार बिहानसम्म ९ स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने इलामको मेची राजमार्ग र खोटाङको मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छन्।
यसैगरी बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।
त्यसैगरी सिन्धुपाल्चोकको अरनिको राजमार्ग र तातोपानी जाने सडकमा पहिरोले यातायात ठप्प बनाएको छ भने मकवानपुरको कान्तिलोकपथमा पनि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। रसुवाको पासाङ ल्हामु सडकखण्डमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र सुदूरपश्चिमको दार्चुलास्थित महाकाली राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
साथै प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
