एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले ल्याइएको प्रस्ताव अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स बाट पारित भएको छ ।
युद्ध विस्तारको विपक्षमा उभिएका चार रिपब्लिकन सांसदसमेत डेमोक्रेटिक सांसदहरूसँग एकजुट भएपछि प्रस्ताव २१५ विरुद्ध २०८ मतले पारित भएको हो । पछिल्लो चार महिनादेखि जारी अमेरिका–इरान तनावका बीच ट्रम्प प्रशासनको युद्धसम्बन्धी अधिकार सीमित गर्न अमेरिकी सांसदहरूले गरेको यो चौथो प्रयास हो ।
प्रस्तावका समर्थकहरूले कांग्रेसको स्पष्ट स्वीकृतिबिना सैन्य कारबाही विस्तार गर्ने प्रयास अमेरिकी संविधानको भावना र शक्ति सन्तुलनको सिद्धान्तविपरीत रहेको बताएका छन्। उनीहरूको भनाइमा युद्ध घोषणा वा दीर्घकालीन सैन्य संलग्नताजस्ता विषयमा अन्तिम निर्णय गर्ने अधिकार कांग्रेससँग रहनुपर्छ।
यद्यपि तल्लो सदनबाट पारित भएको प्रस्ताव तत्काल कानुन बन्ने अवस्था छैन। अब यसलाई रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेट ले अनुमोदन गर्नुपर्नेछ। सिनेटबाट पारित भए पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यसलाई निष्प्रभावी बनाउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ।
यता युद्धविरामको सहमति भएको दाबी गरिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमणका घटनाहरू जारी रहेका छन्। यसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चिन्ता बढाएको छ ।