Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रीले आँखा चिम्लिएपछि म्यानपावर व्यवसायीहरूको भाग्य खुल्यो

    मन्त्रीले आँखा चिम्लिएपछि म्यानपावर व्यवसायीहरूको भाग्य खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । गोकर्ण बिष्ट यतिबेला पूर्वमन्त्री भइसकेका छन् । अन्य मन्त्रीको तुलनामा कार्यसम्पादन राम्रो भए पनि बिष्ट बर्खास्तीमा परे । रिजल्ट निकाल्न प्रयासरत हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अयोग्यको बिल्ला लगाइदिएको भन्दै उनी रुष्ट छन् ।

    यद्यपि, उनले सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका भने छैन । बिष्टको कार्यकालमा वैदेशिक रोजगार व्यवसायीहरूसँग सुमधुर सम्बन्ध रहेन । वैदेशिक रोजगार व्यवसायीको ठगी र बेइमानीविरुद्ध विष्ट उभिएकै कारण उनी बर्खास्तीमा परेको कतिपयको ठम्याइ छ ।



    बिष्टको कार्यकालमा वैदेशिक रोजगार व्यवसायीसँग पानी बाराबारकै अवस्था रहे पनि रामेश्वर राय यादव भित्रिएसँगै भने सम्बन्ध सुध्रिने मात्रै होइन, सुमधुर नै बन्न पुगेको छ । बिष्टले वैदेशिक रोजगार व्यवसायीहरूलाई ढिम्किन नदिए पनि यादवले रातोकार्पेट ओछ्याएर मन्त्रालयमा स्वागत गरेका छन् । त्यसैले मन्त्रालयमा हिजोआज म्यानपावरका मान्छेहरूको बाक्लो आउजाउ हुने गरेको छ ।



    ‘पूर्वमन्त्री बिष्ट र म्यानपावर व्यवसायीबीच पानी बाराबारको सम्बन्ध भए पनि यादव भित्रिएसँगै अवस्था बदलिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘कम्युनिस्ट मन्त्रीका लागि अहिले म्यानपावर व्यवसायी श्रमिकभन्दा पनि प्रिय हुन थालेको छ ।’

    म्यानपावर व्यवसायी र मन्त्रीबीचको सम्बन्धको छाया विस्तारै मन्त्रीको कदममा समेत देखिन थालेको बताइन्छ । स्रोतका अनुसार, बिष्टले श्रमिकका पक्षमा नभएकाले कतिपय देशसँगका श्रम सम्झौतालाई अन्तिम रूप दिएका थिएनन् । उनले श्रमिकको हित सुनिश्चित हुने गरी सम्झौताको तयारी गरिरहेका थिए । तर, मन्त्री यादव भित्रिएसँगै बिष्टले रोकेका फाइलहरू धमाधम अगाडि बढ्न थालेका छन् । ‘मन्त्री यादव आएसँगै म्यानपावर व्यवसायीहरूको भाग्य खुलेको छ । व्यवसायीले जे भन्छन् त्यही मन्त्रीबाट खुरुखुरु हुन थालेपछि म्यानपावर व्यवसायी गदगद भएका छन् ।’

    एक वर्षअघि मौरिसससँग श्रम सम्झौता भए पनि बीचमा रोकिएको थियो । अहिले मन्त्रीले त्यसलाई अगाडि बढाएका छन् । यही प्रक्रिया टुंग्याउन यादव नेतृत्वको टोली मौरिसस पुगेर सोमबार स्वदेश फर्कदैछ । जानकारहरू मौरिसस जाँदा मन्त्री यादव म्यानपावर व्यवसायीहरूको चासो सम्बोधन गर्ने गरी गएको बताउँछन् । म्यानपावर व्यवसायी मन्त्री विदेश जाँदा फूलमाला लिएर पुग्ने परम्परा यसअघि नभए पनि आफ्नो स्वार्थ बोकेर मन्त्री मौरिसस गएकै कारण उनीहरू बिदाइका लागि विमानस्थल पुगेको मन्त्रालय स्रोत बताउँछ ।

    वैदेशिक रोजगार व्यवसायीको मायाजालमा परेका मन्त्री यादवले उता जापान कामदार पठाउने विषयमा पनि व्यवसायीको पक्षमा निर्णय गर्ने संकेत देखाएका छन् । विगतका ठगीलाई मध्यनजर गर्दै बिष्टले सरकारीतबरबाटै कामदार पठाउने तयारी गरे पनि उनले व्यवसायीको स्वार्थमा परेर उनीहरूलाई पनि यसमा सहभागी गराउने तयारी गरेका छन् । तर, श्रमिक पक्षधरहरू म्यानपावरबाट पठाउँदा शोषण हुने भएकाले यसमा सरकारकै संलग्नता हुनुपर्ने पक्षमा छन् ।
    (साँघु साप्ताहिक)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार