Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बन्द हुने अवस्थामा पुग्यो हिंसापीडित आश्रयस्थल

    बन्द हुने अवस्थामा पुग्यो हिंसापीडित आश्रयस्थल

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    रोल्पा । सदरमुकाम लिवाङमा रहेको हिंसापीडित महिला तथा बालबालिका अल्पकालीन आश्रयस्थल आर्थिक अभावले बन्द हुने अवस्थामा पुगेको छ ।

    विसं २०७३ मा स्थापना भएको सो आश्रयस्थल सञ्चालन गर्न अर्थाभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । न्यायका लागि सदरमुकाम आउने हिंसापीडित महिला र बालबालिकाका लागि आश्रयस्थल अति प्रभावकारी बन्दै आएको थियो ।



    साविकको महिला तथा बालबालिका कार्यालयको सहजीकरणमा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको सो आश्रयस्थल पछिल्लो समय कसरी सञ्चालन गर्ने भन्ने अन्योल बढ्दै गएको छ ।



    हालसम्म ३१२ ले आश्रय लिइसकेका छन् । तीमध्ये आठ पुरुषसमेत रहेको सो सहकारी संस्थाले जनाएको छ । बीसदेखि ४९ वर्ष उमेर समूहका हिंसापीडित भएर आश्रय लिएको देखिन्छ । सो उमेर समूहका २०२ जनाले सेवा लिएका छन् । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ५१ र ४९ देखि माथि उमेर समूहका ५९ जनाले सो सेवा लिएको संस्थाका सचिव भावना शर्माले जानकारी दिए।

    जातिगतरूपमा सबभन्दा धेरै दलित हिंसाबाट पीडित भएर आश्रय लिन आएको देखिन्छ । बाहुनक्षेत्री ५९ र जनजाति ८६ ले आश्रय लिन आउँदा १६७ दलितले आश्रय लिएको उनले बताए।

    जिल्लामा जनजातिको बाहुल्य रहे पनि कम सङ्ख्यामा रहेका दलित नै हिंसामा पर्ने देखिएको संस्थाले जनाएको छ । हिंसाको मूल कारण अशिक्षा र गरिबी भएकाले यसको मारमा गैरदलितभन्दा दलित नै बढी देखिएका शर्माले बताए।

    आश्रय लिनेमध्ये ठूलो सङ्ख्याका हिंसापीडित घरेलु हिंसाका छन् । शारीरिक हिंसा १२, मानसिक हिंसा ६१, सामाजिक हिंसा १७ र बालबाविवाहका आठ जनाले आश्रय लिँदा घरेलु हिंसाका २१० जनाले आश्रय लिएको सो संस्थाको तथ्याङ्कमा उल्लेख छ । बलात्कृत आठ र इँटाभट्टा जाने आठ जनाले समेत आश्रय लिएका छन् ।

    आश्रयस्थललाई बन्द हुन नदिन आफूले सक्दो समन्वय गरिरहेको जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढाले जानकारी दिनुभयो । प्रदेश सरकार तथा स्थानीय सरकारसँग यसको निरन्तरताका लागि आफूले बजेट विनियोजन गर्न समन्वय गरेको उनले बताए। आश्रयस्थल सञ्चालक समितिका अध्यक्ष तुलसी आचार्यले आश्रयस्थलको निरन्तरता जरुरी बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार