Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३८ क्विन्टल सुनका तस्करहरुको दुबईमा व्यापार!

    ३८ क्विन्टल सुनका तस्करहरुको दुबईमा व्यापार!

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन नसकेको नयाँ पत्रिका दैनिकमा समाचार छ । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन् । उनीहरू तस्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन् । तीनैजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि पक्राउ परेका थिए ।

    दुबई प्रहरीले उनीहरूलाई तारेखमा राखे पनि नेपाल फर्काउन भने मानेको छैन । उनीहरूको दुबईमा सुन पसल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीमा लगानी छ ।सुरुमा युएई प्रहरीले पक्राउ परेकाविरुद्धको सम्पूर्ण कागजपत्र पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । सोहीअनुसार प्रहरीले उनीहरूविरुद्धका प्रमाण पठाएको थियो । तैपनि नेपाल ‘डिपोर्ट’ गर्न मानेको छैन । स्रोतका अनुसार पछिल्लो समय उनीहरूले औपचारिक माध्यमबाट आउन आग्रह गरेका छन् ।



    औपचारिक माध्यम भनेको सुपुर्दगी सन्धि हो । तर, नेपाल र युएईबीच यस्तो सन्धि छैन । जसकारण उनीहरूलाई नेपाल ल्याउन समस्या भएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि प्रहरी प्रधान कार्यालयले गृह, परराष्ट्र मन्त्रालय हुँदै युएई सरकारलाई पत्राचार भने गरेको छ । विगतमा दुई देशका प्रहरीबीचकै समन्वयमा कतिपय अभियुक्तलाई दुबईबाट ल्याइएको छ । सुन तस्करीमै संलग्न गुप्तलाल भुसाल, बेनु श्रेष्ठ, राजन पन्तलगायतलाई दुबईबाट पक्राउ गरी ल्याइएको थियो । त्यतिवेला केही महिनापछि नै युएई प्रहरीले निष्कासन गरिदिएको थियो ।



    दुबई मात्र होइन, अन्य देशबाट अभियुक्त ल्याउन पनि नेपाल प्रहरीलाई समस्या छ । मानव तस्करीमा इन्टरपोलले रेड नोटिस जारी गरेका सुदर्शन गौतम क्यानडामा व्यापार गरेर बसिरहेका छन् । क्यानडा प्रहरीले उनलाई फर्काउन मानेको छैन । दुई देशबीच कानुनी सहायता तथा सुपुर्दगी सन्धि नभएकाले नै पठाउन नमानेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार