Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राप्रपा एकता आज : डेढ वर्षपछि महाधिवेशन, केन्द्रीय सदस्य अन्योल कायमै!

    राप्रपा एकता आज : डेढ वर्षपछि महाधिवेशन, केन्द्रीय सदस्य अन्योल कायमै!

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज बुधबार एकता घोषणा हुँदै छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा हुँदै छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमतिअनुसार एकता घोषणा १२ बजे राष्ट्रियसभा गृहमा गर्ने तयारी छ ।



    सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त) का दुई जना अध्यक्ष, राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन् । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाँटलगायत दैनिक कार्यसञ्चालन तीन अध्यक्षको सहमतिमा गरिनेछ ।



    राप्रपा संयुक्त प्रवक्ता जनकराज पाठकले अध्यक्षत्रयबीचको शनिबार रातिको सहमतिअनुसार मंगलबार दुबै राप्रपाको अन्तिम केन्द्रीय समिति बैठकपछि एकता सहमति अनुमोदन गरिएको जानकारी दिए । एकतापछि ‘के कति संख्या केन्द्रीय समिति रहने ?’ भन्नेबारे मंगलबार रातिसम्म टुंगो लागेको छैन । तर, सहमति आधारपत्रअनुसार ‘क–कसलाई केन्द्रीय सदस्य बनाउने ?’ भन्ने जिम्मा तीन अध्यक्षबीच नै रहने छ ।

    ‘केन्द्रीय समितिको आकार कस्तो र कत्रो हुने ? अन्तिम टुंगो लागेको छैन, सहमती आधारपत्रअनुसार जिम्मेवारी तीन अध्यक्षलाई नै छ,’ प्रवक्ता पाठकले भने । आधारपत्रअनुसार हाल कायम तीनै दलका निर्वाचन चिह्न ६ महिनाका लागि स्थगन गरिएको छ । तर, झण्डा भने थापा नेतृत्वले प्रयोग गर्दै आएको राप्रपाकै राखिने भएको छ ।

    यसैगरी, दुबै दलको विधान सामन्जस्य गरी एकीकृत नया“ विधान बनाउने सहमति बनेको छ । अहिलेका लागि भने राप्रपा विधानलाई अन्तरिम मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले प्रस्ताव गर्ने छ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत महाधिवेशन गरिनेछ ।

    २०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको छ। मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएका छन् ।

    राजसंस्थासहित हिन्दू राष्ट्र पुनर्स्थापनाको विषयलाई अहिले दुवै दलले आफ्नो मूल सिद्धान्त मान्दै आएका छन्। यही निकटतामा कुरा नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो ।

    राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) पछि राप्रपा सामूहिक नेतृत्वको अभ्यास गरेका हुन् । यद्यपी यसअघि राप्रपा सामूहिक नेतृत्वकै क्रममा विभाजन भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार