Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पत्रकार साहको हत्याका मुख्य अभियुक्त फौजदारलाई थुनामा राख्न आदेश

    पत्रकार साहको हत्याका मुख्य अभियुक्त फौजदारलाई थुनामा राख्न आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    कलैया । पत्रकार वीरेन्द्र साहकाे हत्याको आरोपित कुन्दन भनिने नरेन्द्रकुमार फौजदारलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत बाराका एक नम्बर न्यायाधीश खिलनाथ रेग्मीको इजलासले फौजदारविरुद्धको कर्तव्य ज्यान मुद्दाको थप पुष्टिका लागि बिहीबार थुनामा पठाउने आदेश दिएको हाे । उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

    जिल्ला प्रहरी कार्यलय बाराले फौजदारलाई कर्तव्य ज्यान, लागूऔषध र डकैती लुटपाट मुद्दाको कारवाहीमा बिहीबार अदालत पेश गरेको थियो । अन्य मुद्दाको हकमा पछि फैसला हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।



    पत्रकार साहको हत्यामा फौजदारको संलग्नता रहेको पुष्टि हुने प्रमाण देखिएकाले अर्को फैसला नहुन्जेल अदालतले उनलाई पुर्पक्षका लागि पठाएको हो । न्यायाधीश रेग्मीको आदेशमा प्रचलित कानुन अनुसार मुनासिब देखिएको र प्रमाणका आधारमा पछि ठहरिने गरी हाललाई पुर्पक्षका लागि थुनामा राख्ने भनिएको छ ।



    प्रहरीले फौजदारलाई घटनाको १२ वर्षपछि गत आइतबार घरबाटै पक्राउ गरेको थियो । बारागढी गाउँपालिका–६ गडहल गाउँका ५१ वर्षीय फौजदार राजनीतिक संरक्षणमा लुकिछिपी बस्दै आएका थिए । तत्कालीन नेकपा माओवादीका जिल्ला नेता र कार्यकर्ताको समूहले रिपोर्टिङमा रहेका एभिन्युज टेलिभिजनका संवाददाता साहलाई २०६४ असोज १८ मा पिपरा बजारबाट मोटरसाइकलमा अपहरण गरी गोली हानेर हत्या गरेको थियो ।

    जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार विपक्षीको साक्षीको बकपत्र बुझ्‍न बाँकी रहेकाले तत्कालका लागि थुनामा पठाउने आदेश भएको बताए । हत्याका पाँच अभियुक्तमध्ये फौजदार मुख्य हुन् । फौजदारमाथि डाँका र लागूऔषधसम्बन्धी मुद्दा पनि छन् । हत्याको योजनाकार लालबहादुर चौधरी र हरेराम पटेल अझै फरार छन् । फौजदार, चौधरी र पटेल तत्कालीन माओवादीका जिल्ला सचिवालय सदस्य थिए । अर्का अभियुक्त मैनेजर गिरी ११ वर्ष जेल जीवन बिताएपछि राष्ट्रपतिबाट सजाय मिनाहामा परी छुटिसकेका छन् । अर्का अभियुक्त रामएकवाल सहनी जेलमै छन् । जिल्ला अदालतले २०६८ जेठ १६ मा गिरी र सहनीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार