Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • किन पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार?

    किन पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार?

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो । छलफलले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले राइड सेयरिङ रोक्न नसकिने निष्कर्ष निकालेको छ ।



    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले संविधानले नै सवारी तथा यातायातको नियमनलगायतको काम प्रदेशअन्तर्गत तोकिसकेको र बाग्मती प्रदेशको सवारी यातायातसम्बन्धी ऐनको दफा १३ मा यसबारे स्पष्ट व्यवस्था भएको भन्दै यो नियमन गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषय प्रदेश मातहतको भएको जनाउँदै आएका थिए ।
    मन्त्री नेम्वाङले यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताउँदै नीतिगत रूपमा सुधार गर्नुपर्ने के के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्नेमा आफू रहेको बताएका छन् ।



    ट्याक्सी व्यवसायीको चर्को विरोधपछि यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै टुटल र पठाओको नाम नै उल्लेख नगरी तिनीहरुले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको थियो । सूचना जारी भएलगत्तै त्यसको चौतर्फी विरोध भएको थियो ।

    सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था विपरित भएको जनाएको थियो । विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिएको थियो ।

    गत मंसिरमा पनि विभागले यस्तै सूचना जारी गरेको थियो । त्यस समयमा पनि मन्त्री नेम्वाङले यथावत् रूपमा सञ्चालन गर्न निर्देशन दिए पनि पुनः टुटल र पठाओ निर्बाध रूपमा सञ्चालनमा आएका थिए ।

    निजी प्रयोजनका लागि निकालिएका सवारीसाधनमा यात्रु बोक्न नपाइने भन्दै मंगलबार ट्याक्सी व्यवसायी यातायात विभागमा पुगेका थिए । लगत्तै विभागले सूचना जारी गरेको थियो । राइड सेयरिङ टुटल र पठाओमाथि यसअघि नै दुईपटक प्रतिबन्ध लगाएर पुनः फुकुवा गरिएको थियो । तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा टुटल र पठाओ बन्द गर्ने प्रयास भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गर्न चाहेनन् । चौतर्फी विरोधपछि प्रधानमन्त्रीले नियमन गरेर व्यवस्थित रूपमा सञ्चालन गर्ने पक्ष लिएपछि टुटल र पठाओ पुनः निर्बाध रूपमा सञ्चालनमा आएको थियो ।

    पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले मंसिर पहिलो साता सूचना जारी गर्दै एउटा प्रयोजनका लागि दर्ता गरेर अर्कै प्रयोजनमा प्रयोग गर्ने सवारीसाधनमाथि कारबाही गर्ने चेतावनी दिएर पठाओ र टुटल बन्द गर्न खोजेको थियो । मन्त्री नेम्वाङले आफ्नै कार्यकक्षमा बोलाएर यातायात व्यवस्था विभागका महानिर्देशक हमाललाई ऐन नियममा संशोधन गर्नुपर्ने भए प्रतिवेदन बुझाउन निर्देशन दिँदै यथावत् सञ्चालन गर्न निर्देशन दिएका थिए । उनले प्रतिवेदन नआउन्जेलसम्म पूर्ववत् सञ्चालन गर्न निर्देशन दिएका थिए ।

    टुटलले मोटरसाइकल तथा पठाओले मोटरसाइकल र उपत्यकामा चल्ने सामान्य ट्याक्सीलाई पनि आफूसँग आबद्ध गराएर मोबाइल एपमार्फत सेवा दिँदै आएको छ । यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ यातायात व्यवस्था विभागमा दर्ता छैनन् भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका छन् । टुटल र पठाओमा करिब ५० हजार राइडर आबद्ध छन् । राजधानी दैनिक

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार