Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कस्ले गर्दै छ आइजीपी ज्ञवालीलाई विवादमा पार्ने काम ?

    कस्ले गर्दै छ आइजीपी ज्ञवालीलाई विवादमा पार्ने काम ?

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा लेखापाल सरुवाको नीति बनाइएको थियो । उनले लेखापालहरूको सरुवा र कामबारे पीसीसीबाट एउटा निर्णय गराएका थिए ।

    एकपटक लेखापाल भएपछि जागिरे जीवनकालभर लेखापाल नै रहने परिपाटीको अन्त गर्दै मापदण्ड बनाइयो । पहिलो वर्ष उनले लगातार ८ वर्ष लेखापाल भएकालाई लेखापालबाट हटाउने निर्णय गरेका थिए भने दोस्रो वर्ष ६ वर्ष लेखापाल भएकाहरूलाई हटाउने निर्णय गरेका थिए ।



    जसअनुरूप नयाँ लेखापालहरूले अवसर पाउने एकातर्फ थियो भने अर्कोतर्फ लेखापालहरूको सरुवामा क, ख, ग, घ गरी ४ श्रेणी बनाएर नियमअनुसार सरुवा गर्ने नीति थियो । यदि कोही लेखापाल बीचमा कुनै काण्ड लागेर हटेमा या विदेश गएमा या कुनै भवितव्यले खाली भएमा आलेपको रेकर्डमा जो सिनियर छ त्यसैलाई लेखापालका रूपमा खटाउने नीति थियो ।



    त्यसले प्रहरीमा लेखापालहरूमा हुने अस्वस्थ प्रतिस्पर्धा, आर्थिक चलखेल र लेखापालका लागि मन्त्रीदेखि नेताहरूले दिने दबाब धेरै हदसम्म रोकिएको थियो । धेरै आर्थिक चलखेल गर्न पाउने, नक्कली बिल भौचर पेश गरेर भ्रष्टाचार गर्न पाइने र अडिटरलाई घुस ख्वाएर कतिपय भ्रष्टाचारजन्य कामहरू पनि हरियो मसीले हस्ताक्षर गराई सफाई पाउने जस्ता कामहरू लेखापालहरूबाट हुँदै आएका थिए । नेपाल प्रहरीका झण्डै ८० प्रतिशत लेखापालहरू यस्तै गलत काम गरेर अस्वभाविक सम्पत्ति कमाउन सफल भएका छन् ।

    त्यो नीति बिरुद्ध ठाकुरप्रसाद ज्ञवाली जस्ता सज्जन मानिएका ब्यक्ति आइजीपी भएपछि हालै लेखापालको सरुवा भएको छ । संगठनको नीतिविरुद्ध धमाधम काजसरुवादेखि नयाँ लेखापालहरू खटाउने काम गरेर आइजीपी ज्ञवालीलाई नै विवादमा पार्ने काम सुरु भइसकेको छ । ज्ञवाली आइजीपी हुनेबित्तिकै सचिवालय, कर्मचारी प्रशासन र सरकारी निवासको नेतृत्व परिवर्तन गरेर स्याबासी कमाएका ज्ञवालीलाई भने हालै खटाइएको लेखापालहरूको काजसरुवाले चर्को विवादमा पारेको छ । डीआइजीबाट एआइजी बढुवामा पारदर्शीता अपनाएर उनले सकलदर्जाको मन जितेका थिए ।

    तर ज्ञवालीले त्यो नीति बिपरीत सरुवा गरेका छन् । नीतिविरुद्ध नजाने र सधैँ नियम–कानुनको कुरा गर्ने आइजीपी ठाकुर ज्ञवालीलाई हालै भएका ३ वटा लेखापालहरूको काजसरुवाले विवादमा पारेको छ ।

    नेपाल प्रहरीका लेखापालहरूको सबैभन्दा बढी आकर्षक ठाउँका रूपमा चिनिने काठमाडौँ परिसरमा हिमाल पोखरेललाई ल्याइएको छ । उनी महानगरीय आयुक्त कार्यालयका आयुक्त डीआइजी विश्व पोखरेलका भतिजा हुन् । लेखा तालिम लिएपछि २०७६ साउनमा दरबारमार्ग बृत्तमा लेखापालमा प्रवेश भएका सई हिमाल पोखरेल ८ महिनामै सबैभन्दा आकर्षक काठमाडौं परिसरको लेखापालमा सरुवा भएका छन् ।

    थुनुवाको सिदादेखि अन्य खरिद, मर्मतलगायतका कारणले मासिक लाखौँ कमाइ हुने भएकै कारण काठमाडौँ परिसर लेखापालहरूको सबैभन्दा आकर्षक ठाउँका रूपमा चिनिन्छ । उनलाई २ हप्ताअघि मात्रै मुख्यालयको आलेप शाखाको सिफारिशमा प्रशासनले काजसरुवा गरेको हो ।

    त्यसैगरी अर्को नीति र नियम नलाग्ने गरी नरेन्द्र देवकोटाको पनि त्यस्तै काजसरुवा गरिएको छ । नरेन्द्र देवकोटा लेखापालका रूपमा गत साउन महिनामा दैलेख जिप्रकामा सरुवा भएका थिए ।

    गत साउनमा मात्रै सरुवा भएको लेखापाललाई यसरी बीचमा राम्रो ठाउँमा खाली भयो भन्दैमा काजसरुवा गर्न नपाइने नीति हुँदाहुँदै निजलाई अर्को भ्रष्टाचारको अखडा र लेखापालहरूको दोस्रो ठूलो आकर्षक ठाउँका रूपमा चिनिने महानगरीय ट्राफिक प्रहरी महाशाखामा काजसरुवा गरियो । त्यसैगरी उपत्यकाभित्रको अर्को आकर्षकका रूपमा चिनिने ललितपुर प्रहरी परिसरमा नीतिविरुद्ध नै लेखापाल एकराज भण्डारीलाई ल्याइएको छ ।

    उनी पनि गत साउनमा नयाँ लेखापालका रूपमा जनकपुरस्थित २ नम्बर प्रदेशस्थित गणमा खटिएका थिए । उनलाई पनि नीतिविपरीत नै बीचैमा ललितपुर परिसरको लेखापालका रूपमा ल्याउने काम गरिएको छ । यी तीनवटा लेखापालहरूको काजसरुवा प्रहरीको पिसिसीको नीति र निर्णयविपरीत रहेको प्रधान कार्यालयकै एक अधिकारी वताउँछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार