Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • कोरोना संक्रमणकाे सन्त्रासले सेना र प्रहरीको सुडान मिसन बन्द

    कोरोना संक्रमणकाे सन्त्रासले सेना र प्रहरीको सुडान मिसन बन्द

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ । संयुक्त राष्ट्र संघअन्तर्गतको मिसनमा साउथ सुडान जान लागेका १७ जना प्रहरी र नेपाली सेनाका ७ सय सैनिककोे मिसन यात्रा कोरोना संक्रमणका कारण तत्कालका लागि रोकिएको हो ।

    प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले साउथ सुडान जान तयारी अवस्थामा रहेका १७ जना प्रहरीको मिसन यात्रा तत्कालका लागि स्थगित भएको बताए । उनका अनुसार संयुक्त राष्ट्रसंघको हेडक्वाटरबाट तत्कालका लागि नपठाउनु भन्ने पत्र आएपछि मिसन यात्रा रोक्का भएको हो । ‘कोरोनाको कारण तत्कालका लागि मिसन नपठाउनु भन्ने पत्र यूएन हेडक्वाटरबाट आयो, त्यसपछि तत्कालका लागि साउथ सुडान जाने तयारीमा रहेकाहरू रोकिएका छन्,’ प्रहरी प्रवक्ता क्षेत्रीले राजधानीसँग भने ।



    नेपाल प्रहरीले सयुक्त राष्ट्र संघको मिसनमा सुडान, कंगो, डार्फरलगायतका मुलुकमा आफ्ना जवान तथा अधिकृत पठाउँदै आएको छ । यस्तै, तालिमका लागि इटाली, भियतनाम, इन्डोनेसियालगायतका मुलुकमा प्रहरी जाँदै आएका छन् ।



    सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सुडान जान लागेका ७ सय सैनिकको यात्रा तत्कालका लागि रोकिएको छ । राष्ट्रसंघ मुख्यालयले पत्र नै पठाएर तत्कालका लागि सुडानमा खटिने शान्ति मिसन स्थगित गर्न भनेको निर्देशनालयले जनाएको छ । तर, पत्रमा किन स्थगित भन्ने बारे कारण खुलाइएको छैन । निर्देशनालयका प्रमुखसमेत रहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राष्ट्रसंघ मुख्यालयले पत्र नै पठाएर तत्कालका लागि मिसनमा पठाइनेहरूलाई रोक्न आग्रह गरेको जानकारी दिए ।

    ‘राष्ट्रसंघ मुख्यालयबाट तत्कालका लागि टेम्पोररी हल्ट भनिएको पत्र आयो, हामीले रिक्वेस्टअनुसार हल्ट गरेका छौं,’ सैनिक प्रवक्ता पाण्डेले भने । शान्ति मिसनका लागि सेनाको टोली गत २५ फागुनमा त्यसतर्फ जाने कार्यक्रम थियो । अब रोकिएका कहिले जाने भन्ने बारे भने अहिले नै यकिन भइसकेको छैन । राष्ट्रसंघ मुख्यालयले नेपालसहित भारत, चीन, दक्षिण कोरिया, कम्बोडियालगायतका मुलुकलाई शान्ति मिसन तत्कालका लागि स्थगित गरिएको पत्र पठाएको हो ।

    संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यका लागि फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो मुलुकमा पर्छ । शान्ति स्थापना कार्यको लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकमा तैनाथ छन् । शान्ति स्थापनार्थ नेपाली सेनाबाट ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिएका छन् । राजधानी दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार