Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • क्‍वारेन्टाइनबाट धमाधम भाग्दै, स्वास्थ्यकर्मीमाथि नै कुटपिट

    क्‍वारेन्टाइनबाट धमाधम भाग्दै, स्वास्थ्यकर्मीमाथि नै कुटपिट

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.4K
    SHARES

    प्रतिकारात्मक तस्बिर

    काठमाडौँ । भारतबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएकाहरू धमाधम भाग्न थालेका छन् । बसिरहेकाहरूले पनि घर जान दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै कतिपय ठाउँमा स्थानीय बासिन्दाले स्वास्थ्यकर्मीमाथि नै कुटपिटसमेत गरेका छन् ।

    बैतडीको पाटन नगरपालिका–९ को विद्यालयमा राखिएका सात जना क्वारेन्टाइनबाट बुधबार एकैसाथ भागेका छन् । एक्लै भएको मौका छोपेर भागेका उनीहरूलाई सम्पर्कमा ल्याउन गाह्रो भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । सुर्नया गाउँपालिकाको एक विद्यालयमा राखिएका एक जना पनि बिहीबार बिहानै भागेका छन् । अन्य पालिकाले भने कसैलाई पनि क्वारेन्टाइनमा राखेका छैनन् ।



    पुरचौडी नगरपालिका–५, कुवाकोटस्थित भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा ड्युटी खटिएका स्वास्थ्य चौकीका अहेव करनसिंह धामी बुधबार राति कुटिएका छन् ।क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले उनीमाथि कुटपिट गरेका हुन् । बुधबारै भारतबाट फर्केका सात जनालाई विद्यालयमा राखिएको थियो ।



    जागरीले राति कोठाभित्र जबर्जस्ती पसेर गाली गर्दै धामीलाई कुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी डिल्लीनारायण पाण्डेयले बताए । जागरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्यकर्मीलाई सामान्य चोट लागेको उनले जनाए । नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यकर्मी कुट्नेमाथि कारबाही माग गरेको छ ।

    करिब तीन सातादेखि बिहीबारसम्म बैतडीको प्रमुख नाका झुलाघाटसँगै तल्लो स्वराड क्षेत्रको पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका विभिन्न घाटमा डुंगा र ट्युब तरेर घर फर्कनेको संख्या २ हजार ५ सय १४ पुगेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर किसन चन्दले बताए । नाका बन्द भएपछि सोमबारयता ३५७ जना जिल्ला प्रवेश गरेका छन् ।

    स्वास्थ्य कार्यालय र प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका १० वटै पालिकाले क्वारेन्टाइनको व्यवस्था गरेका छन् । दशरथचन्द नगरपालिकाले ९ जनालाई क्वारेन्टाइनमा राखेको छ । बुधबारसम्म दुई दर्जनभन्दा बढीलाई राखिएकोमा बिहीबार सम्बन्धित पालिकाको जिम्मा लगाएको स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए । यस्तै सिगास गाउँपालिकाले बिहीबार एक जनालाई क्वारेन्टाइनमा राखेको छ । पाटन नगरमा चार, सुर्नया गाउँपालिकामा १५, पञ्चेश्वरमा तीन, शिवनाथमा दुई र पुर्चौडी नगरमा सात जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

    त्यसैगरी भारतसँग सीमा जोडिएको डडेलधुराको परशुराम नगरपालिकाले लालढुंगा बजारनजिक त्रिवेणी बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएका ४५ जनाले १२ घण्टा नबित्दै घर जान पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका छन् । उनीहरू तोडफोडमा उत्रिएपछि सम्बन्धित वडाका वडाध्यक्षको जिम्मा लगाएर घर फर्काइएको छ । स्वास्थ्यकर्मीले सबैको सामान्य जाँच गरेर घर पठाएका हुन् । कसैमा पनि उच्च ज्वरो नदेखिएकाले जान दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

    गन्यापधुरा गाउँपालिका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा अहिलेसम्म एक जनाले पनि बस्न मानेका छैनन् । भारतबाट फर्किएका कसैले बस्न नमानेपछि क्वारेन्टाइन खाली छन् । गाउँपालिकाका अध्यक्ष नवल मल्लका अनुसार भारतबाट आएकाहरूको घरमै पुगेर आग्रह गर्दा पनि बस्न मानेका छैनन् ।

    अजयमेरु गाउँपालिकाले गाउँबाट खोजेर क्वारेन्टाइनमा राख्ने प्रयास जारी राखेको जनाएको छ । सम्झाएर नमान्नेलाई प्रहरी लगाएर जबर्जस्ती क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको छ । गाउँपालिका छिर्ने चारवटै नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । प्रयास गर्दागर्दै पनि धेरैजसोले क्वारेन्टाइनमा बस्न नमान्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । परशुराम नगरपालिकाले क्वारेन्टाइनमा राखेका ४४ जनालाई घर पठाएको छ । अमरगढी नगरपालिकाले पनि ३० जनालाई घर पठाएको छ ।

    महाकाली नदी तरेर घर फर्किएकाका विषयमा भने स्थानीय तहलाई जानकारी नै छैन । भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकाका विभिन्न वडामा सीमाबाट अवैध रूपमा भित्रिएका धेरै सर्वसाधारणले अहिलेसम्म सामान्य जाँचसमेत गराएका छैनन् । भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा बस्न नमान्ने समस्या सबै ठाउँमा छ । ‘स्थानीय तहले खाना, बस्न र सबैखाले सुविधा उपलब्ध गराउँदा पनि क्वारेन्टाइनमा बस्नभन्दा भागेर घर जान थालेका छन्,’ भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी मदनराज भट्टले भने ।

    चिकित्सकहरूले यस्तो गुनासो गरे पनि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबै स्थानीय तहसँग समन्वय गरी आवश्यक तयारी भइरहेको बताउँछन् । ‘चैत २ मै जिल्ला स्तरको बैठकले १८ बुँदे कार्ययोजना बनाएर आवश्यक तयारी भइरहेको छ,’ पन्तले भने, ‘स्थानीय तहमा रहेका स्वास्थ्य संस्थासँग निरन्तर समन्वय भएको छ भने हरेक दिन हरेक स्थानीय तहबाट आवश्यक रिपोर्ट आइरहेको छ ।’ कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार