Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • विदेशबाट घर फर्केको सूचना दिनेलाई नगद

    विदेशबाट घर फर्केको सूचना दिनेलाई नगद

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडाैँ । म्याग्दीमा विदेशबाट हालै घर फर्केकाको खोजी सुरु गरेको मंगला गाउँपालिकाले आफैं वा अन्यले सूचना दिएमा नगद एक हजार पुरस्कार दिने घोषणा गरेको छ । पालिकामा घरदैलो गरी फागुन अन्तिम सातापछि विदेशबाट फर्केकाको खोजी सुरु गरिएको छ ।

    ‘विश्वका प्रायः देश कोरोना संक्रमणग्रस्त छन्, विदेशबाट फर्केकाहरूबाट संक्रमण भित्रिने जोखिम बढी छ,’ गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘स्वास्थ्य अवस्थाको सही सूचना पाउनका लागि नगद पुरस्कारको व्यवस्था गरेका हौं ।’



    अन्य पालिकामा पनि विदेशबाट हालै फर्केकाको विवरण खोजी भइरहेको छ । मालिका गाउँपालिकामा फागुनको अन्तिम सातायता १९ जना विभिन्न देशबाट घर फर्केको बताएको छ ।



    डोटीमा भारतबाट बिहीबार आएका थप १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । दिपायल सिलगढी नगरपालिकाका १२ र बोगटानका ३ जना छन् । दिपायल सिलगढी नगरपालिकाकालाई स्वास्थ्य निर्देशनालयमा र बोगटान गाउँपालिकालाई चवराचौतारा स्वास्थ्यचौकीमा राख्ने व्यवस्था भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

    बिहीबारसमेत गरी क्वारेन्टाइनमा बस्ने ३५८ पुगेका छन् । डोटीका विभिन्न २० स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ ।

    प्रदेश १ मा कोभिड–१९ संक्रमण आशंकामा करिब डेढ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार शंकास्पद संक्रमित पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यसैगरी होम क्वारेन्टाइनमा ६९ जनालाई राखिएको जनाइएको छ । कतारबाट आएका दुई जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । पाँचथरका उनीहरूलाई एम्बुलेन्समा राखेर ल्याइएको हो । उनीहरूका परिवारलाई भने होम क्वारेन्टाइनमा राखिएको छ ।

    प्रदेश सरकारले हालसम्ममा प्रदेशभर ९ सय ८१ शय्याको क्वारेन्टाइन र १ सय ४२ शय्याको आइसोलेसन वार्ड तयार भइसकेको जनाएको छ । केही स्थानमा थप निर्माण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    वाग्मती प्रदेशअन्तर्गतको धादिङको नेत्रावती डबजोङ र गजुरी गाउँपालिकामा १० मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ भने गल्छी गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १६ जनालाई राखिएको छ । उनीहरू भारतबाट फर्किएका थिए ।
    गाउँमा छैन सतर्कता

    भारतसित सीमा जोडिएका सुदूरपश्चिमका चार जिल्लाका वैधानिक नाकाहरूबाट पछिल्लो साता १ लाख २४ हजार ८ सय गाउँ फर्किए । तर उनीहरूमध्ये लकडाउनको अवधिमा जिल्ला पुर्‍याइएकालाई मात्र क्वारेन्टाइनमा राख्ने प्रयास भए पनि त्यसअगाडि आएकाहरू गाउँमा निर्बाध घुमफिर गरिरहेका छन् । कैलाली, कञ्चनपुर, बैतडी, डडेलधुरा र दार्चुला भारतसित आवतजावत गर्ने नाका जोडिएका जिल्ला हुन् । धनगढीको त्रिनगर सीमा नाकाबाट मंगलबार राति जिल्ला जिल्ला पुर्‍याइएकालाई मात्र क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हो । त्यसको अघिल्लो दिनसम्म गाउँ पुगेकालाई कुनै वास्ता नगरिएको स्थानीयले बताएका छन् ।

    बाजुराको बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीका इन्चार्ज दीपक शाहका अनुसार भारतबाट आएकोहरूको संख्या नगरपालिकाभरि सयौं भए पनि २ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । उनका बजेडीमा मात्रै एउटै गाडीमा ५० जना आएका थिए ।

    सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्की त्यसमा केही त्रुटि भइरहेको स्विकार्छन् । उनले वडा तहमा वडाध्यक्षको संयोजकत्वमा समिति गठन भएर बाहिरबाट आएकाहरूलाई सेल्फ क्वारेन्टाइनमा रहन सहजीकरण गर्न भनिएको बताए । लकडाउनको समयमा जिल्ला पठाइएकालाई पनि व्यवस्थित रूपमा क्वारेन्टाइनमा बसाल्न नसकिएको उनको भनाइ छ । ‘धेरैतिर क्वारेन्टाइनमा बस्न नमानेर स्वास्थ्यकर्मीमाथि नै हातपात भएको जानकारी आएको छ,’ उनले भने, ‘यस्तो विकराल अवस्थामा व्यक्ति जिम्मेवार हुनु नै प्रमुख कुरा हो ।’

    सशस्त्र प्रहरीका विभिन्न युनिटहरूका अनुसार सबैभन्दा धेरै कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६९ हजार २१५ आएका छन् । कञ्चनपुरकै बेलौरी, बेल्डाँडी, गडीकोट दोधाराबाट १ हजार ६ सय आएका छन् । कञ्चनपुरपछि कैलालीका नाकाबाट सबैभन्दा धेरै संख्या भित्रिएको तथ्यांक छ । खक्रौला, गुलरियाघाट मौरियाघाट त्रिनगर र शिवपुर गरी ६ वटा नाकाबाट पछिल्लो ६ दिनमा ५२ हजार ५८७ भित्रिएको सशस्त्र प्रहरीको तथ्यांक छ । यीमध्ये सबैभन्दा धेरै धनगढीको त्रिनगर नाकाबाट ४५ हजार ४९८ जना नेपाल आएका थिए । दार्चुलाको खलंगा नाकाबाट ४ सय ८० आएको प्रहरी तथ्यांक छ ।

    अछामका ग्रामीण क्षेत्रमा पनि त्यही अवस्था छ । लकडाउनको समयमा धनगढी सीमामा रोकिएका अछामका ५३ जनालाई सदरमुकाम मंगलसेनमा क्वारेन्टाइनमा राखिएको छ । तर त्यस अघिल्लो दिनसम्म गाउँ पुगेकाहरू भने घरघरमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘व्यक्ति आफैं होसियार हुनुपर्ने हो,’ उनले भने, ‘धेरैजसो ठाउँमा जनप्रतिनिधिसमेत खटिएर उनीहरूलाई घर बाहिर जान नहुनेमा सजग गराउने प्रयास गरिरहेका छौं ।’ कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार