Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चिनियाँ कम्पनी सिनो हाइड्रोद्वारा लकडाउनकाे अवज्ञा, २ सय मजदुर जम्मा गरेर काम गर्दै

    चिनियाँ कम्पनी सिनो हाइड्रोद्वारा लकडाउनकाे अवज्ञा, २ सय मजदुर जम्मा गरेर काम गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    मेलम्ची (सिन्धुपाल्चोक) : लकडाउन उल्लंघन गर्नेलाई लाठी प्रहार गरी नियन्त्रण गर्ने सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिनो हाइड्रोलाई भने निर्वाध काममा लगाएको छ। सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सचेतना अपनाउँदै मुलुकभर लकडाउन गरे पनि आयोजना ठेकेदार कम्पनीले सरकारी निर्देशनको अवज्ञा गर्दै मुहान क्षेत्रमा झन्डै दुई सय मजदुरलाई निरन्तर काममा लगाउँदै आएको छ।

    स्रोतका अनुसार मुहान क्षेत्रमा भित्र-बाहिर आवतजावत गर्न बन्देज लगाएर मजदुरलाई नियमित काममा लगाइएको हो। मुहान क्षेत्र अम्बाथानमा कार्यरत अधिकांश मजदुर बाहिरका भएकाले उनीहरू घर फर्किन सम्भव नभएकाले काममा लगाउनुपरेको स्रोतको दाबी छ।



    मुहान क्षेत्रनजिक रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछाने अन्य विकल्प नभएको भन्दै आयोजनाका ठेकेदारले मजदुरलाई काम लगाइरहेको बताए। मजदुरहरू घर फर्किन सम्भव नभएको र काममा नलाग्दा खानेबस्ने समस्या हुने भन्दै आयोजनाको काम सुचारु राखेको जानकारी पाएको उनले बताए। ‘आयोजनाकै ग्याल्थुम अडिटमा काम पूर्णरूपमा ठप्प भएको छ तर मुहान क्षेत्रमा भने काम भइरहेको जानकारी आएको छ’, प्रहरी निरीक्षक लामिछानेले भने, ‘यो विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराइसकेका छौं।’



    बाहिर-भित्र आवतजावतमा बन्देज लगाएकाले संक्रमणको डर नहुने भन्दै कामलाई निरन्तरता दिइरहेको जानकारी आफूले पाएको लामिछाने बताउँछन्। अन्य क्षेत्रमा लकडाउन कडाइका साथ लागू गरे पनि राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाले नै काम गर्ने÷नगर्ने निर्देशन दिनुपर्ने उनको भनाइ छ। आयोजना निर्धारित समयअगावै सकिए पुरस्कार पाउने र ढिला भए जरिवाना तिर्ने सर्तमा ठेक्का लिएको कम्पनीले काम नरोकी निर्धारित मितिअगावै काम सक्न सरकारले निर्देशन दिएको लकडाउनसमेत पालना नगरेको स्रोतले बतायो।

    एक मजदुरका अनुसार कार्यक्षेत्रभित्र संक्रमित व्यक्ति नभएकाले बाहिर-भित्र आवतजावत गर्न नपाउने गरी लकडाउनकै रुपमा मजदुरहरूले काम गरिरहेका छन्।

    ठेकेदार कम्पनीलाई आयोजना रहेको हेलम्बु गाउँपालिकाले पनि काम बन्द गर्न आग्रह गरिसकेको छ। पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार कम्पनीले मजदुरलाई काम नगरी पाल्न नसक्ने भन्दै काम निरन्तर राख्नुपरेको अडान राख्दै आएको छ। कम्पनीले अटेर गरेपछि गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनालाई पनि आग्रह गरेको थियो। ‘आयोजनाका कार्यकारी निर्देशकले समेत काम रोक्न निर्देशन दिइसकेको बताएका छन् र पनि कम्पनीले काम बन्द गरेको छैन’, अध्यक्ष शेर्पाले भने, ‘सरकारले आयोजनामा कार्यरत मजदुरलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने व्यवस्था गरे हुन्थ्यो।’

    अध्यक्ष शेर्पाका अनुसार कम्पनीले स्थानीय कामदारलाई बिदा दिने र बाहिरका कामदारलाई मात्र काम लगाउने जानकारी दिएको छ। गाउँपालिकाले भने सरकारको निर्देशनअनुसार कम्पनीले सबै काम रोकेर लकडाउनको पालना गर्न कम्पनीलाई पटक-पटक आग्रह गरेको छ।

    आयोजना प्रमुख तिरेश खत्रीले पनि सयभन्दा बढी मजदुर भित्री रहेको स्वीकार गरे। तर, उनले मजदुरलाई काममा नलगाएको, सरसफाइमा मात्र लगाएको बताए। ‘भित्रका मान्छे भित्रै छन्, बाहिरका बाहिरै’, खत्रीले अन्नपूर्णसित भने, ‘लकडाउनपछि घर फर्किन नसकेकाहरू मात्रै भित्र (आयोजनास्थल) छन्।’

    लकडाउनपछि सरकारले नै मजदुरलाई उद्धार किन नगरेको भन्ने प्रश्नमा आयोजना प्रमुख खत्रीले यसबारे मन्त्रालयमा छलफल गरिने र लकडाउन लम्बिए केही उपाय गरिने बताए। अन्नपुर्ण पाेष्टबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार