Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • अनियमिततामा संलग्नलाई पदमुक्त गर्नुहोस्: देउवा

    अनियमिततामा संलग्नलाई पदमुक्त गर्नुहोस्: देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनियमिततामा संलग्नलाई जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले औषधि खरिदमा ढिलासुस्ती र भ्रष्टाचारमा संलग्नलाई जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका हुन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै देउवाले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गर्दै सरकारकाे चपर्काे अालाेचना समेत गरे।

    ‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन’, देउवाले विज्ञप्तिमा भनेका छन्, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेललाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।’



    उनले संकटको समयमा भ्रष्टाचार नियन्त्रणका लागि गठन भएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्नेमासमेत जोड दिएका छन्।



    ‘लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ।’

    देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन सरकारलाई प्रतिपक्षीले सघाइरहेको भन्दै अनियमितताप्रति आपत्ति जनाएका हुन्। उनले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार