Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

    मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.9K
    SHARES

    जाग्रेब । क्रोएसियाका प्रभावशाली फुटबलर हुन्, लुका मोड्रिच। उनी हाल स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। उनी क्रोएसियन राष्ट्रिय टोलीका कप्तान पनि हुन्। सन् २०१८ मा रूसमा सम्पन्न फिफा विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन पनि उनको निकै ठुलो योगदान थियो।

    विश्वकपको फाइनलमा क्रोएसिया बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग पराजित भएको थियो। क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याउन गरेको योगदानका कारण नै मोड्रिचले उक्त विश्वकपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पुरस्कारसमेत पाएका थिए।



    त्यसअघि क्रोएसियालाई सन् २०१८ को विश्वकपमा छनोट गराउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा ग्रिसविरुद्ध उनले पेनाल्टीमा गोल गरेपछि नै क्रोएसिया अगाडिको यात्रा तय गर्न सफल भएको थियो।



    राष्ट्रिय टोली र क्लब फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण नै मोड्रिचले सन् २०१८ मा युरोपको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्डसमेत पाएका थिए। त्यसलगत्तै उनी फिफाद्वारा प्रदान गरिने वर्षको सर्वोत्कृष्ट पुरुष फुटबल खेलाडी घोषित भए भने त्यसपछि प्रतिष्ठित ‘बेलन डी ओर’ अवार्ड पनि उनकै पोल्टामा परेको थियो। उनी सन् २००७ यता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि ‘बेलन डी ओर’ पाउने पहिलो खेलाडी बनेका थिए।

    यी र यस्ता अनेकौं सफलताहरूले नै मोड्रिचलाई अहिले क्रोएसियाको सर्वकालीन महान् फुटबलरहरूको सूचीमा उभ्याएको छ। विश्वकपपछि दोस्रो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो, युरो कप। युरो कपको पछिल्लो संस्करण सन् २०२० मै आयोजना हुनुपर्ने थियो। तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण युरो कप एक वर्ष पछाडि सरिसकेको छ।

    सन् २०२१ मा युरो कप सुरु हुँदा प्रभावशाली मिडफिल्डर मोड्रिच ३६औं वर्षको संघारमा हुनेछन्। त्यसैले क्रोएसियाका लागि आगामी युरो कपमा मोड्रिचको उपस्थिति यतिबेला सबैभन्दा चिन्ताको विषय बनेको छ। आगामी युरो कपको मिति एक वर्ष पर सरेसँगै मोड्रिचको सहभागिताको विषयमा पनि विश्व फुटबलमा विभिन्न चर्चा, परिचर्चा सुरु भएको छ।

    अहिले पनि क्रोएसियाका लागि मोड्रिच सबैभन्दा ठुलो आशाका केन्द्र हुन्। उनले बढ्दो उमेरका कारण आगामी युरो कपअघि नै सन्न्यास लिने अपुष्ट समाचारहरू पनि आइरहेका छन्। यस्तोमा क्रोएसियामा महान् फुटबलर डाभोर सुकरले भने मोड्रिचले आगामी युरो कप खेल्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका छन्।

    ‘आगामी युरोपियन च्याम्पियनसिप सुरु हुँदा मोड्रिच ३६औं जन्मदिन मनाउने तयारीमा हुनेछन्। तर, एउटा क्षमतावान् खेलाडीका लागि उमेर ठुलो कुरो होइन। मलाई विश्वास छ, आगामी युरो कपमा पनि मोड्रिचले नै क्रोएसियाको नेतृत्व गर्नेछन् र आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको मन पनि जित्नेछन्’, आफ्नो समयका चर्चित खेलाडी सुकरले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्।

    पछिल्लो समय रियल म्याड्रिडमा पनि मोड्रिच नियमित रूपमा मैदानमा देखिएका छैनन्। फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले मोड्रिचको स्थानमा पटकपटक टोनी क्रुस र फेड्रिको भल्भेर्डलाई मौका दिने गरेका छन्। त्यसैले पनि मोड्रिचले विस्तारै लय गुमाउँदै गएको अनुमान गर्न थालिएको छ।

    यसका बाबजुद सुकर भने मोड्रिचको क्षमतामा कुनै कमी नआएको दाबी गर्छन्। उनी आगामी युरो कपमा पनि मोड्रिड क्रोएसियाका लागि सबैभन्दा प्रभावशाली हतियार भएको बताउँछन्। ५२ वर्षीय सुकर हाल क्रोएसियन फुटबल महासंघका अध्यक्ष पनि हुन्।

    ‘हरेक क्लब र प्रशिक्षकको आआफ्नै नीति हुन्छन्। रियल म्याड्रिडमा जिदानले मोड्रिचलाई आराम दिनुको पछाडि पनि केही कारण होला। तर, मेरो विचारमा मोड्रिचको क्षमतामा अहिले पनि कुनै कमी आएको छैन। उनी आगामी युरो कपमा पनि क्रोएसियाका लागि आशाको केन्द्र हुन्’, सुकरले भनेका छन्।

    युरो कपको छनोट प्रतियोगितामा क्रोएसिया आफ्नो समूहमा पहिलो स्थानमा रहेको थियो। क्रोएसियालाई युरो कपमा छनोट गराउन पनि मोड्रिचले महत्वपूर्ण योगदान गरेका थिए। मोड्रिच चार वर्ष इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममा बिताएर सन् २०१२ मा रियल म्याड्रिडमा आबद्ध भएका थिए।

    आफ्नो समयका प्रभावशाली स्ट्राइकर सुकरले भने सन् १९९६ देखि सन् १९९९ सम्म रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए। क्रोएसियाका अतिरिक्त उनले युगोस्लाभियाको राष्ट्रिय टोलीबाट पनि अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए। उनले अहिलेको परिस्थितिमा युरो कप एक वर्ष पछाडि सार्ने युरोपेली फुटबल महासंघ (यूईएफए) को निर्णयको स्वागत पनि गरेका छन्। अन्नपुर्ण पाेष्टबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार