Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीलाई टार्गेट गरी नेता भीम रावलले भने- सधै बैठकबाट भागेर पार्टी चल्दैन

    ओलीलाई टार्गेट गरी नेता भीम रावलले भने- सधै बैठकबाट भागेर पार्टी चल्दैन

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी संगठनका बैठकमा सहभागी भएर निर्णय गरेर अगाडि बढ्नुपर्ने रावलको भनाइ छ । नेता रावलले पुष्पकमल दाहाल प्रचण्डको पनि साथ छोडेका छन्।

    मंगलवार प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा रावलले यसको छनक दिएका छन्। बैठकमा रावल प्रचण्डमाथि कड्किएका थिए। ‘ओलीसँग तपाई (प्रचण्ड) को हुने पदको झगडामा म सामेल छैन। तपाईहरु पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन। वामदेवको प्रस्ताव राम्रो छ। पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौं,’ बैठकमा रावलले आक्रोश पोखेका थिए।



    अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सहभागी बैठकले त्यसरी एकतर्फी रूपमा बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय अनुचित भएको निर्णय गरेको थियो । त्यस्तै, पार्टीलाई विधि, प्रणाली र परम्पराअनुसार बैठक सुचारु गर्नका लागि अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कुरा गर्ने जिम्मा दिएको रावलले बताए ।



    रावलले स्थायी कमिटी बैठक पदसँग सम्बन्धित नभएको कुरा आफूले बैठकमा राखेको बताए । ‘यो बैठक कुनै पदसँग मात्रै सम्बन्धित छैन । यद्यपि पार्टीमा कुरागर्दाखेरि पदीय जिम्मेवारीको कुरा पनि आउला,’ उनले बैठकमा राखेका कुराबारे भने, ‘हामीले पार्टीको विधि, प्रणालीको कुरा गर्दा पदको कुरा मात्रै हो भनेर लगियो भने गलत हुन्छ । बैठकमा हामीले राष्ट्रिय सरोकारका विषय, पार्टीको विधि र गन्तव्य, नेपालको संविधान, पार्टीको नीति र प्रणालीको रक्षाको कुरा पनि सँगै कुरा उठाएका छौं । पदको लागि मात्रै हो भन्ने बाहिर प्रचार गरियो, यो गलत हो भनेको थिएँ ।’

    पार्टीमा उठेका विषयको निराकरण बैठकबाट हुनुपर्ने आफूले कुरा राखेको रावलको भनाइ थियो । उनले भने, ‘यो दुईजना अध्यक्षको मात्रै विषय होइन, सिंगो स्थायी कमिटीको विषय हो । दुईजना मिल्ने बित्तिकै सबै चिज हुने, अरु कोही पनि होइन, अरुको अस्तित्व छैन भन्ने प्रकारले नसोचियोस् । पार्टीको बैठक महत्त्वपूर्ण हो र बैठकबाट सबै कुरा हुनुपर्छ भनेर कुरा राखेको हुँ ।’

    उनले बैठक राष्ट्रिय सरोकारका विषय, पार्टीको विधि र गन्तव्य, नेपालको संविधान, पार्टीको नीति र प्रणालीको रक्षाको विषयमा बहस गर्नका हुनुपर्ने माग गरे। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपटक र महासचिव विष्णु पौडेलसँग एकपटक वार्ता गरेका रावलले प्रचण्ड गुट छाड्ने निष्कर्षमा पुगेका छन्।

    पार्टीको आगामी बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालसँगै वरिष्ठ नेताहरूबीच हुने कुराकानीले निर्धारण गर्ने रावलको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार