Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकारकाे चेतावनी

    जसपालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकारकाे चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टीकाे रवैयाप्रति कडा आपत्ति जनाएका छन्। उक्त पार्टीले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको भन्दै थापाले आपत्ति जनाएका हुन्।

    प्रधानमन्त्री ओलीको बिषयमा जनता समाजवादी पार्टीले प्रयोग गरेको भाषालाई लिएर थापाले पनि आज एक विज्ञप्ति जारी गरेका छन्।



    सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको केपी ‘…ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको…’ भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेकाे थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



    यस्तो छ प्रेस सल्लाहकार थापाको बिज्ञप्ती

    ‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘…केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको…’ भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ । पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।

    राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला । सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् । जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन । आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।

    शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ । जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ । राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन् । तसर्थ : जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।

    सूर्य थापा
    प्रधानमन्त्रीका प्रेस सल्लाहकार
    २७ साउन २०७७

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार