Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा विवाद वडा तहसम्मै

    नेकपा विवाद वडा तहसम्मै

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.4K
    SHARES

    रूपन्देही/रोल्पा । नेकपाको आन्तरिक कलह प्रदेश, स्थानीय तह हुँदै वडासम्म पुगेको छ । भ्रातृ संगठनमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । प्रदेशका सबै जिल्लामा पार्टी र भ्रातृ संगठनले छुट्टाछुट्टै भेला गर्न थालेका छन् ।

    एक पक्षले बोलाएको बैठक अर्को समूहले आधिकारिक नभएको भन्दै उपस्थित नहुन अपिल गर्दै आएका छन् । दुवै समूहले प्रतिस्पर्धाकै रूपमा जारी राखेका भेला, बैठक र छलफलमा नेतृत्वकै चर्को आलोचना हुने गरेको छ । जिल्ला तहले निर्णय नै गरेर तल्लो तहसम्म विवाद प्रवेश गराएका हुन् । नेकपाको विवाद प्रदेशका रूपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, रोल्पालगायत जिल्लामा वडा तहसम्मै पुगेको छ ।



    रूपन्देहीमा दुवै समूहका बैठक र भेला दैनिक चल्दै आएका छन् । पुष्पकमल दाहाल–माधव नेपाल पक्षले वडा तहसम्म नै निर्देशन पठाएर पुस मसान्तसम्म सबै बैठक र छलफल सकेर आन्दोलनको तयारी गर्न निर्देशन दिएको छ । नेकपाका सचिव निर्मल जीसीले स्थायी कमिटीबाट अर्को निर्देशन नआउँदासम्म पार्टीका स्थानीय तह र वडा तहसम्मका कमिटीको बैठक र छलफल सुरु गरिएको बताए । ‘अब हामी वडा तहदेखि नै अहिलेको प्रतिनिधिसभा विघटनको निर्णयको विरोधमा छौं,’ उनले भने, ‘पार्टीको जिल्ला तहबाटै निर्णय गरेर कार्यक्रम तल्लो कमिटीमा पुर्‍याएका छौं ।’ उनी दाहाल–नेपाल समूहमा छन् ।



    केपी शर्मा ओली समूहले पनि जिल्लामा छुट्टै बैठक र भेला गरिरहेको छ । आन्तरिक छलफल गरे पनि कमिटी स्तरमा अब छलफल गर्न लागिएको नेकपा रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । उनले जिल्लामा अध्यक्ष शिवराज सुवेदीको उपस्थितिमा बहुमत सदस्यसहित भएको बैठकले छलफल तीव्र पार्ने निर्णयसहित पुस १९ गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको दाबी गरे । ‘अहिले वडा तहसम्म विरोधका कुनै कार्यक्रम छैनन्,’ ओलीनिकट उनले भने, ‘पुस १९ गते प्रतिनिधिसभा विघटनको औचित्य र निर्वाचनको तयारीको सन्दर्भमा छलफल र प्रशिक्षण गर्ने निर्णय भएको छ ।’ पालिकास्तरमा बैठक बस्ने तयारी पनि भइरहेको उनले जनाए ।

    गुल्मीको कालीगण्डकी गाउँपालिकाको नेकपा कमिटीका दुवै समूहका नेताले दुवै समूहको कुनै पनि भेलामा सहभागी नहुने निर्णय गरेका छन् । अध्यक्ष रामजी ढकाल र सचिव तेजेन्द्र सलामी अहिलेसम्म जिल्लामा भएका कुनै पनि समूहका बैठकमा सहभागी भएका छैनन् । ‘हाम्रो दबाब दुवै समूहलाई हो,’ अध्यक्ष ढकालले भने, ‘पार्टी पूर्ण रूपमा विभाजनको निर्णयमा नपुग्दासम्म कतै नलाग्ने तर औपचारिक फुटको अवस्थामा निर्णय लिनेछौं ।’ ढकाल ओली समूहका र सलामी दाहाल–नेपाल समूहका हुन् । तर, जिल्ला नेतृत्व भने विभाजन भएको छ । जिल्ला अध्यक्ष मधुकृष्ण पन्त ओली समूहमा र सचिव वीरबहादुर कार्की दाहाल–नेपाल समूहमा छन् । जिल्ला नेतृत्वबाट छुट्टाछुट्टै भेला र बैठक गर्न दुवै पक्षले निर्देशन दिइसकेका छन् ।

    रोल्पामा नेकपाका दुवै समूहले कार्यकर्ता तान्न चरणबद्ध राजनीतिक गतिविधि अघि सारेका छन् । तत्कालीन माओवादीको वर्चस्व रहेको रोल्पाका कम्युनिस्ट कार्यकर्तालाई ओली र दाहाल–नेपाल समूहले संगठित गर्ने योजनासहित कार्यक्रम गरिरहेका हुन् । पछिल्लो घटनाक्रम र पार्टीको उद्देश्य जानकारी दिन भन्दै कार्यकर्तामाझ संगठन विस्तार गर्न दुवै समूहका नेता अहिले रोल्पामा छन् । दाहाल–नेपाल समूहका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, जयपुरी घर्ती, ओनसरी घर्ती रोल्पा आए । प्रधानमन्त्री ओलीको कदमप्रति कडा प्रतिवाद गर्दै उनीहरूले उक्त कदमले लोकतन्त्र समाप्त पार्ने र संविधानको बर्खिलाप गरेको दाबी गरे । प्रशिक्षणका क्रममा महरा र पुनलगायत नेताले ओली कदमको विरोधलाई वडा कमिटीसम्मै छलफल गर्न निर्देशन दिए । यो समूहले लिबाङमा जिल्लास्तरीय प्रशिक्षण नै चलाएको छ । बिहीबार बुटवलमा प्रदेशस्तरीय भेला पनि सम्पन्न गरेको छ ।

    नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगरले शनिबारदेखि सबै तहका कार्यकर्तामाझ प्रशिक्षण चलाउन थालिएको बताए । उनी दाहाल–नेपाल समूहमा छन् । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार