नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप चार जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र बर्दियाका दुई–दुई जनाको शनिबार राति मृत्यु भएको हो ।
बर्दियाको बाँसगढी नगरपालिका ९ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनको जेठ १० गते पीसीआर गरी त्यही दिन भर्ना गरिएको थियो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका २ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते भर्ना गरिएका उनको १८ गते पीसीआर गरिएको थियो ।
बाँकेको बैजनाथ गाउँपालिका ३ का ३३ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते भर्ना गरिएका उनको ९ गते पीसीआर गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका १ का ४५ वर्षीया महिलाको युनाइटेड अस्पतालमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ७ गते भर्ना गरिएको थियो । उनको आज बिहान मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। अहिलेसम्म ३०२ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३१३ जनाको मृत्यु भइसकेको छ ।