Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवसरवादी, स्वार्थी, लालची र अनैतिक तत्वले दल खारेजीको प्रचार गरे : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भएको जनाएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आज विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागलाई हास्यास्पद भन्दै अवसरवादी, स्वार्थी, लालची र अनैतिक तत्वले पार्टीलाई बद्नाम गराउने दुष्प्रयार गरेको उल्लेख गरेका छन् ।

ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का सरोज बुढाथोकीको नामबाट निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन परेको छ ।

दल दर्ता खारेज सम्बन्धी निर्णय गर्न माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा 'बादल' समूहका नेताहरुले निर्वाचन आयोगलाई दबाबसमेत दिंदै आएका छन् । शुक्रबार मात्रै टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु आयोगको कार्यालयमा पुगेर यसबारे आयुक्तहरुसँग छलफल गरेका छन् ।

यो कदमलाई माओवादी केन्द्रले कुनियत भनेको छ । विज्ञप्तिमा भनिएको छ–‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077