Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साउदी अरबका राजकुमारको अमेरिकामा भव्य स्वागत, किन फेरियो अमेरिकी नीति ?

    साउदी अरबका राजकुमारको अमेरिकामा भव्य स्वागत, किन फेरियो अमेरिकी नीति ?

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभन्दा अगाडि जो बाइडनले पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी अरबको भूमिकाको आलोचना गरेका थिए । राष्ट्रपति बनिसकेपछि गत फेब्रुअरी महिनामा उनले अमेरिकी गुप्तचर निकायलाई त्यस घटनामा साउदी युवराजप्रति सन्देह प्रकट गरिएको एउटा प्रतिवेदन सार्वजनिक गर्ने अनुमति दिए।

    साउदी राजगद्दीका उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानले खशोग्जीको हत्यामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका थिए। तर, राष्ट्रपति बनेको छ महिना नपुग्दै बाइडनबाट मोहम्मद बिन सलमानका भाइ राजकुमार खालिद बिन सलमानले भव्य स्वागत पाएका छन् । उनी साउदी अरबका उपरक्षामन्त्री पनि हुन्।



    पत्रकार जमाल खशोग्जीको अक्टोबर २०१८ मा हत्या भएपछि साउदी अरबबाट अमेरिकाको भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन्।



    लन्डनस्थित थिङ्क ट्यान्क रोयल यूनाइटेड सर्भिसेज इन्स्टिट्यूटसँग सम्बद्ध प्राज्ञ माइकल स्टीभन्स भन्छन्, ‘युवराज सलमान तथा साउदी अरबको छवि पुनः स्थापित गर्न ठूलो प्रयास गरिएको छ।’

    उनका अनुसार त्यसका लागि अहिले साउदी अरबले आर्थिक अवसरहरूमा बढी ध्यान केन्द्रित गरेको छ। ‘अनि क्षेत्रीय सुरक्षाबारे उनले भन्ने गरेका उग्र कुराहरू अहिले मन्द बनाइएको छ।’

    तीनले खशोग्जी हत्याकाण्डबारे स्वतन्त्र अनुसन्धान हुनुपर्ने र युवराज मोहम्मद बिन सलमान पनि त्यसको दायरामा पनि पर्नुपर्ने माग गरिरहेका छन्।

    अक्टोबर २०१८ मा १५ जना साउदी अधिकारीहरू दुईवटा सरकारी विमानमा चढेर इस्तानबुल गएका थिए। त्यहाँ साउदी वाणिज्य दूतावासमा उनीहरूले युवराज मोहम्मद बिन सलमानका प्रखर आलोचक पत्रकार जमाल खशोग्जीलाई ढुकेर बसेका थिए।

    उनी त्यहाँ आइपुग्नासाथ उनीहरूले खशोग्जीलाई नियन्त्रणमा लिएर उनको प्राण जानेगरी घाँटी थिचे। त्यसपछि उनीहरूले उनको शरीर टुक्राटुक्रा पारेर नष्ट गरिदिए।

    अमेरिकाले भव्य स्वागत गरेका राजकुमार खालिद बिन सलमान उक्त घटना हुँदा अमेरिकाका लागि साउदी राजदूत थिए। पहिला उनले खशोग्जीको हत्या भएको दाबी ‘पूर्णतया असत्य र आधारहीन’ भएको बताएका थिए।

    तर, टर्कीले साउदी वाणिज्य दूतावासमा भएको घटनाबारे जानकारी दिएपछि साउदी नेतृत्व आफ्नो दाबीबाट पछि हट्न बाध्य भएको थियो।

    उसले ‘छाडा एजेन्टहरूले उक्त घटना गराएको’ अर्को दाबी गर्दै एउटा गुप्त सुनुवाइपछि केही कनिष्ठ अधिकारीहरूलाई दोषी ठहर गरेको थियो । तर, अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले उक्त घटना राजकुमार खालिद बिन सलमानको जानकारीबिना हुनै नसक्ने निष्कर्ष निकालेको थियो।

    अमेरिकाले ७० जनाभन्दा बढी साउदी अधिकारीहरूलाई मानवाधिकार उल्लङ्घनका घटनामा संलग्न भएको आशङ्कामा प्रतिबन्ध लगायो। पश्चिमा देशका नेताहरू खशोग्जी हत्याकाण्डपछि राजकुमार खालिद बिन सलमानबाट टाढै बसेका छन् ।

    तथापि पश्चिमा देशहरूले साउदी अरबलाई आफ्नो एउटा महत्त्वपूर्ण साझेदार, इरानी विस्तारको सन्दर्भमा एउटा बलियो पर्खाल, एउटा उल्लेख्य व्यापारिक साझेदार तथा हतियारको ठूलो ग्राहक अनि खनिज तेलको बजारमा स्थिरता कायम राख्ने प्रभावशाली पक्ष मानेका छन्।

    युवराज मोहम्मद बिन सलमानसँग परिचित स्रोतहरूका अनुसार सार्वजनिक रूपमा उनीसँग दूरी कायम गर्ने पश्चिमा देशको भनाइ र साउदी अरबसँग दौत्य सम्बन्ध राख्ने वास्तविकताबीच ठूलो खाडल छ। तसर्थ युवराज मोहम्मद बिन सलमानका भाइले गत साता अमेरिकाका सरकारी कार्यालयहरूमा स्वागत पाए। (स्रोत : बीबीसी)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार