Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ राजदूतको नेपालप्रति सद्भाव, ऊर्जा मन्त्रीसँग भनिन् - जलविद्युत्मा लगानी गर्न इच्छुक छौं

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताईन् । ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ (बिआरआइ)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिइन ।

यस्तै, भेटवार्तामा मन्त्री भुसालले चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह समेत गरेकी छिन् । चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गर्दै नेपालको विकासमा चीनले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन समेत गरेकी छिन्। मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरिन ।

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन । चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उनले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन।

चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्रि ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077