Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एमाले विवाद : शीर्ष नेताबीच ‘वाकयुद्ध’ जारी, दोस्रो तहमा छलफल

काठमाडौं । नेकपा एमालेको विवाद हाल पनि सुल्झिहाल्ने अवस्थामा छैन। लामो समयदेखिको विवादका कारण पार्टी एक हुन सकेको छैन। पार्टीका शीर्ष नेताहरुको अडानका कारण एमाले एकताले गति लिन सकेको छैन।

विशेषगरी पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘टकराव’का कारण एमाले एकता अघि बढ्न नसकेको हो। यी दुई नेताबीच लामो समयदेखिको ‘वाकयुद्ध’ जारी नै छ।

शनिबार पनि अध्यक्ष ओलीले माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखे। पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्ट्याएका थिए।

‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन,’ उनले भनेका थिए।

वरिष्ठ नेता नेपाल पनि के कम, उनले ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिए। शनिबार वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका थिए।

‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस्। फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस्। अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ।’ अखिल फोर्स’ले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘संविधानको संरक्षण भएको छ। संविधानको सही ब्याख्या भएको छ। सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं।’

यता शीर्ष नेताहरु तुच्छ टिकाटिप्णीमा उत्रिरहेका बेला विघटित कार्यदलमा भने सहमतिको प्रयास जारी छ। दुबै पक्षका दोस्रो तहका नेताहरुले पार्टीलाई फुटबाट जोगाउन नसके ठूलो क्षति बेहोर्नुपर्ने बताउँदै आएका छन्।

शनिबार बसेको विघटित कार्यदलको बैठकले पनि एकताका लागि जति ढिलो ग¥यो त्यति नै बढी क्षति हुने निष्कर्ष निकालेको थियो। दोस्रो तहका नेताहरु निरन्तर वार्तामा बसे पनि शीर्ष दुई नेताबीच छलफल नभएसम्म एकता प्रक्रिया टुंगोमा नपुग्ने नेताहरुको बुझाइ छ।

दोस्रो तहका नेताहरु ओली र नेपालबीच वार्ता गराउने वातावरण बनाउन लागिपरेका छन्। तर, ओली र नेपाल एकअर्काविरुद्ध आक्रामकरुपमा प्रस्तुत भइरहेका बेला उनीहरुबीच भेटवार्ता हुने सम्भावना न्यून देखिएको छ। यसले एमाले एकता झन् टर्दै जाने हो कि भन्ने आशंका पैदा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077