काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
जसको प्रभावले देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली रहेको छ ।
कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार देशको हिमाली र पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस र कोशी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।
आज देशका हिमाली भूभागका केही स्थान र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना देखिएको छ।
महाशाखाका अनुसार कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड एवम् तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङ्गको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।