काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मौसम धेरै सक्रिय नहुने जनाएको छ।
विभागका अनुसार आइतबार, सोमबार र मंगलबार अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि व्यापक रूपमा भारी वर्षाको सम्भावना भने न्यून रहेको छ।
आज हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी रातिको समयमा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम केही सक्रिय रहने विभागले जनाएको छ।
यस्तै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने आगामी २४ घण्टाभित्र भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभाग र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ।
मंगलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
