काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङमाथि पाँचौँपटक म्याद थप भएको छ ।
भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुरोधमा विशेष अदालतले आइतबार इन्सपेक्टर गुरुङ र उनका साथी एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङमाथि १० दिन म्याद थप गर्न अनुमति दिएको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले म्याद थप गर्दै उनीहरूलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।
ठगी तथा आपराधिक लाभ मुद्दामा सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए ।
सशस्त्र प्रहरीले डीआईजी युवराज अर्यालको नेतृत्वमा गठन गरेको छानबिन समितिले आन्तरिक रूपमा छानबिन गरेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयकी लेखा अधिकृत रहेकी इन्स्पेक्टर गुरुङले आफ्ना साथी लामाको बैंक खातामा पटक–पटक रकम स्थानान्तरण गरी विद्यालयको रकम हिनामिना गरेको देखिएको छ।
अनुसन्धानका क्रममा गुरुङले करिब चार वर्षको अवधिमा विद्यालयको रकम सशस्त्र प्रहरी कल्याण कोषमा जम्मा नगरी विभिन्न मितिमा साथीको बैंक खातामा पठाएको खुलेको प्रहरीले जनाएको छ।
उनी गत करिब साढे ६ वर्षदेखि एपीएफ स्कुलको लेखा अधिकृतको जिम्मेवारीमा कार्यरत थिइन्।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत घटनाबारे थप अनुसन्धान जारी राखेको छ।