काठमाडौं । काठमाडौँको कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयकी लेखापाल सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कल्पना गुरुङ र उनका साथी ट्राभल एजेन्सी सञ्चालक लीला लामालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
गएको शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो। अदालतले पहिलोपटक ७ दिनको म्याद दिएको हो ।
सशस्त्र प्रहरी बलका डीआईजी युवराज अर्यालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसपछि प्रहरीले दुवैलाई शनिबार साँझ पक्राउ गरेको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूमाथि ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरी अनुसन्धानअनुसार इन्स्पेक्टर गुरुङले एपीएफ स्कुलको आम्दानीबाट सशस्त्र प्रहरीको केन्द्रीय कल्याणकारी कोषमा जम्मा हुनुपर्ने रकम आफ्ना सहयोगी लीलाबहादुर लामाको बैंक खातामा स्थानान्तरण गरेको आरोप छ। प्रारम्भिक अनुसन्धानमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा गुरुङले कनेक्ट आईपीएस प्रयोग गरी रकम स्थानान्तरण गर्दा स्कुलका तत्कालीन समादेशक एसएसपी (हाल डीआईजी) दिग विजय सुवेदीको पनि हस्ताक्षर प्रयोग गरेको खुलेको छ ।
प्रहरीका अनुसार कनेक्ट आईपीएसमार्फत लीलाबहादुर लामा सञ्चालक रहेका एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडे प्रालिका खातामा रकम पठाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरीले आर्थिक कारोबार, बैंक विवरण र अन्य प्रमाण संकलन गर्दै घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।