Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

टेरामक्स भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहन बस्नेतलाई विशेष अदालतबाट सफाइ

टेरामक्स भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहन बस्नेतलाई विशेष अदालतबाट सफाइ

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार आवश्यक पूर्वाधार तयार नगरी, कार्य सम्पन्न नभई उपकरण आपूर्ति गरिँदा भुक्तानी गरिएको रकम तथा सम्झौताअनुसार सिर्जना भएको थप दायित्वका कारण नेपाल दूरसञ्चार प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी पुगेको थियो।

अभियोगपत्रमा बस्नेतले आयोजनाको सम्भाव्यता अध्ययन, लागत अनुमान, कार्यक्रम प्रस्ताव तथा आवश्यक कानुनी–नीतिगत व्यवस्था नगरी टेरामक्स खरिद प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाइएको थियो।

अख्तियारले उक्त प्रकरणमा २०८२ साल जेठ १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तर अदालतले बस्नेतविरुद्ध लगाइएका आरोप पुष्टि हुने पर्याप्त आधार नदेखिएको निष्कर्षसहित उनलाई सफाइ दिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077