विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएको आरोप लगाएका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित बनेका बस्नेतले नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको दावी गरे ।
विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको बताए ।
उनले भने–‘बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ । यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’
पार्टीलाई जोगाउन र सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकढिक्का भएरलाग्न आह्वान गर्दै बस्नेतले भने–‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन् । अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’