काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा विशेष अदालतले तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार सुनाएको फैसलाअनुसार तत्कालीन अध्यक्ष झालाई एक वर्ष कैद तथा तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई जनही ६ महिना कैद सजाय सुनाइएको छ । तीनै जनालाई जनही ५० हजार रुपैयाँ जरिबाना समेत तोकिएको छ।
अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अन्तर्गत उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो। साथै, तत्कालीन अध्यक्षको हैसियतमा जिम्मेवारी सम्हालेका कारण झामाथि ऐनको दफा २४ समेत आकर्षित हुने भन्दै थप ६ महिना कैद सजाय सुनाइएको हो। यससँगै झाको कुल कैद सजाय एक वर्ष पुगेको छ।
अदालतले टेरामक्स खरिदमा सम्झौता रकम ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भए पनि वास्तविक रूपमा १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ मात्रै भुक्तानी भएको उल्लेख गरेको छ।
फैसलामा २०७८ वैशाख १४ गते सर्वोच्च अदालतको आदेशका कारण Vanrise Solutions SAL कम्पनीसँग सम्झौता गर्नुबाहेक अर्को विकल्प नरहेको, आपूर्ति भएका उपकरण तथा प्रणाली सम्झौताअनुसारकै र प्रभावकारी रहेको भन्ने प्रतिवेदनसमेत पेश भएकाले भुक्तानी भएको रकमलाई नै भ्रष्टाचारको विगो (हानिनोक्सानी) कायम गर्न नमिल्ने निष्कर्ष निकालिएको छ।
यस आधारमा अदालतले विगो नखुलेको अवस्था मानेर कैद र जरिबानाको सजाय मात्र निर्धारण गरेको हो। उक्त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सोही मुद्दामा अदालतले पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई भने सफाइ दिएको छ भने प्राधिकरणका तत्कालीन अध्यक्ष झा र दुई सदस्यलाई दोषी ठहर गरेको हो।